neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारले पायो ८ खर्ब ६१ अर्ब राजस्व, महामारीमा पनि व्यवसायीलाइ छैन कर छुट

सरकारले पायो ८ खर्ब ६१ अर्ब राजस्व, महामारीमा पनि व्यवसायीलाइ छैन कर छुट

Jul 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार २३

सरकारले मंगलबार सम्म आठ खर्ब ६१ अर्ब अर्थात लक्ष्यको ८५ प्रतिशत बराबरको राजस्व उठिसेको छ। कोभिडले आर्थिक गतिविधि सुस्त हुँदा पनि राजस्व भने लक्ष्यको हाराहारीमै उठेको छ ।

सरकारी अधिकारीले कर बुझाउने म्याद थपेको र संक्रमणदर पनि घट्दै गएकाले लक्ष्य पूरा हुने दाबी गरेका छन् । तर महामारीले प्रभावित करदातालाई सरकारले छुट र राहत भने दिएको छैन ।

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष ४ खर्ब ५० अर्ब ३४ करोड रुपैयाा कर संकलनको लक्ष्य लिएको थियो । जेठसम्म लक्ष्यको ८० प्रतिशत अर्थात ३ खर्ब ७८ अर्ब ४८ करोड रुपैयाा संकलन गरेको छ । उसले वैशाखमा ३३ अर्ब ९९ करोडको लक्ष्य लिएकामा ३२ अर्ब ४८ करोड उठायो ।

वैशाख तेस्रो सातादेखि काठमाडौं लगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेकाले राजस्व असुली प्रभावित भयो । वैशाख महिनामा आयकर लक्ष्यभन्दा २२ करोड बढी अर्थात ७ अर्ब ५० करोड उठेको थियो । तर जेठमा भने विभागले लक्ष्यको आधा मात्र उठाउन सक्यो । यो महिनामा उसले ३३ अर्ब कर संकलनको लक्ष्य लिएकामा १७ अर्बभन्दा बढी उठाउन सकेन । कर बुझाउने म्याद थपेको र आर्थिक क्रियाकलाप पनि बढ्न थालेकाले असार मसान्तसम्म लक्ष्य भेट्टाउने विभागका अधिकारीको दाबी छ ।

भन्सार राजस्व जेठ मसान्तसम्म लक्ष्यको ८६ प्रतिशत संकलन भएको छ । असार मसान्तसम्म ४ खर्ब ६२ अर्ब २६ करोड उठाउने भन्सार विभागको लक्ष्य हो । उसले अहिलेसम्म ४ खर्ब १ अर्ब उठाएको छ । गैर कर राजस्व ९८ अर्ब ८० करोड उठाउने लक्ष्य रहेकामा त्यसको आधा पनि उठेको छैन ।

कोभिडको दोस्रो लहर चैत अन्तिम साता सुरु भएपनि आर्थिक क्रियाकलाप भने वर्षभरि नै प्रभावित भए । यसका बाबजुद ८३ प्रतिशत राजस्व उठ्नु सकारात्मक हो । महामारीले पिल्सिएका बेला समेत करदाताले खुरुखुरु कर तिरे पनि उनीहरुलाई सरकारले भने कुनै राहत दिएको छैन ।