neapl investment mega bank
  • गृहपृष्ठ
  • बाढीपीडितका लागि राहत र उद्धारमा जोड दिन प्रदेश प्रमुख पौडेलद्वारा ध्यानाकर्षण

बाढीपीडितका लागि राहत र उद्धारमा जोड दिन प्रदेश प्रमुख पौडेलद्वारा ध्यानाकर्षण

Jun 20th, 2021

पोखरा, ६ असार /रासस

गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानले धनजनको ठूलो क्षति भएकाले तत्काल राहत र उद्धारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत गर्भवती, सुत्केरी, अपाङ्गता, ज्येष्ठ नागरिक र बालबालिकालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “मुलुक कोरोना कहरको पीडामा रहेको बेला फेरि अर्को प्राकृतिक विपत्को सामना गर्नुपरेको छ, यस कठिन समयमा तत्काल पीडितका लागि आवास, खाद्य पदार्थ, लत्तकपडा र आवश्यक औषधिको प्रबन्धका लागि प्रदेश सरकारले विलम्ब नगरी विशेष प्राथमिकताका साथ काम गर्नेछ भन्ने विश्वास मैले लिएको छु ।”

प्राकृतिक विपत् हरेक वर्ष आइरहने भएकाले दीर्घकालीन समाधानका लागि वैज्ञानिक अध्ययन गर्नेतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । विपत्का घडीमा राहत, उद्धार र पुनःस्थापनामा आआफ्ना क्षेत्रबाट जुटिरहेका सुरक्षाकर्मी, जनप्रतिनिधि, समाजसेवी र अन्य स्वयंसेवीप्रति प्रदेश प्रमुखले धन्यवाद दिनुभएको छ ।