neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अब बिर्तामोडको फोहोर व्यवस्थापन गर्ने जिम्मा निजीलाई

अब बिर्तामोडको फोहोर व्यवस्थापन गर्ने जिम्मा निजीलाई

Jun 14th, 2021

–सन्तोष शर्मा,
बनियानी, ३१ जेठ /रासस

झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिकाले निराकार सरसफाई सेवा प्रालिलाई नगरमा उत्पादित फोहोर व्यवस्थापनको जिम्मा दिएको हो । नगरपालिका परिसरमा आज आयोजित कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले प्रालिका प्रतिनिधि रविन भट्टराईलाई सम्झौता पत्र हस्तान्तरण गर्नुभयो ।

प्रालिले आगामी असार एक गतेदेखि आगामी तीन वर्षसम्म नगरक्षेत्रको फोहोर व्यवस्थापनको काम गर्ने भएको छ । नगरपालिकाले फोहोर व्यवस्थानमा प्रयोग गर्दै आएको चार वटा सवारी साधान र १४ जना जनशक्ति समेत प्रालिलाई जिम्मा दिएको छ ।“नगरपालिकाले फोहोर व्यवस्थापनमा प्रयोग गर्दै आएको सवारी साधन र कर्मचारी प्रालिलाई जिम्मा लगाएको छ”, उहाँले भन्नुभयो, “कर्मचारीलाई नगरपालिकाले दिँदै आएको सेवासुविधा नघटाइ दिने र सवारी सधान प्रयोग गरेवापत रकम दिने सहमति भएको छ ।”

विभिन्न देश भ्रमणका क्रममा त्यहाँको फोहोर व्यवस्थापनमा निजी क्षेत्रले काम गरेको देखेको र फोहोर व्यवस्थापन प्रभावकारी भएको पाएकाले सोही अनुरुप नगरसभाबाटै पारित गरेर निजी क्षेत्रलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको नगरप्रमुख शिवाकोटीले जानकारी दिनुभयो । केही व्यक्ति तथा संस्थाले फोहोर व्यवस्थापनको नाममा रकम लिएर सडक किनारमा फाल्ने काम गरेको पाइएको र नगरपालिकालाई बद्नाम गर्ने काम भएको बताउँदै उहाँले भन्नुभयो, “त्यस्ता व्यक्ति पत्ता लगाएर २५ हजार रुपैयाँ जरिवाना समेत गराएका छौँ, त्यस्तो काम कोही कसैबाट भए कडा कारबाही गर्छौं ।” उहाँले नगरको फोहोर व्यवस्थापनमा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

नगरपालिकाले तयार पारेको फोहोर व्यवस्थापन कार्यविधि अनुरुप सो प्रालिले नगरको फोहोर व्यवस्थापनको काम गर्ने कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले बताउनुभयो । “स्वच्छ र हराभरा नगर बनाउने अभियानमा हामी एक कदम अघि बढेका छौँ”, उहाँले भन्नुभयो, “टोलटोलमा, घरघरमा सरसफाइ अभियान चलाइनेछ ।”नगरपालिकाले प्रालिसँग रू १० लाख धरौटी समेत लिएको छ । सरसफाई गरेवापत नगरपालिकाले तोकेको दरमा प्रालिले नगरबासीबाट रकम लिने छ ।

घर, स्कूल, पसल, अस्पताल, उद्योग, कलकारना लगायतका २१ वटा शीर्षकमा रू १९० देखि रू १० हजार मासिक शुल्क लिन पाउने जनाइएको छ । प्रालिका प्रतिनिधि भट्टराईले वातावरणविद्सँग परामर्श गरी नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले आफूले १४ वर्षदेखि फोहोरमैला व्यवस्थापन सम्बन्धी काम गर्दै आएकाले नगर क्षेत्रको सबै प्रकारका फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi