neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रहेनन् प्रजातन्त्र सेनानी श्रेष्ठ

Jun 5th, 2021

–नारायण अधिकारी
चितवन, २२ जेठ/रासस

मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको ८४ वर्षका उमेरमा निधन भएको छ । नेपाली काङ्ग्रेस चितवनका सल्लाहाकार समेत रहनुभएका उहाँको आज काठमाडौं स्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वि सं। १९९४ पुस २९ गते सुब्बा मित्रलाल श्रेष्ठ र चुँदरीदेवीका साहिँला पुत्रका रुपमा मकवानपुरको चिसापानीगढीमा जन्मनु भएका उहाँले पाल्पाको पब्लिक पदम हाइस्कुलमा अध्ययन गर्नुभएको थियो । विसं २०१२ मा चितवन आउनु भएका उहाँले पार्टीद्वारा सञ्चालित २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा कास्की जिल्लामा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । विसं २०१५ सालबाट चितवनमा स्थायी बसोबास गर्नुभएका उहाँ सोही वर्ष भएको आम निर्वाचनमा ५६ नम्बर निर्वाचन क्षेत्रत्रमा काङ्ग्रेसका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

उहाँले वि।सं २०१७ को राजनीतिक परिवर्तनसंगै तनहँुको बन्दिपुर सशस्त्र आन्दोलन, २०१८ सालमा भरतपुर कव्जा गर्ने शसस्त्रक्रान्ति र माडी, ठोरी क्षेत्रमा समेत शसस्त्र बिद्रोहमा नेतृत्व प्रदान गर्नु भएको काङ्ग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सेनानी श्रेष्ठ विसं। २०१८ सालपश्चात् आठ वर्ष निर्वासन, पटक–पटक राजवन्दीका रुपमा जेल जीवन, २१ पटक हिरासतमा पर्नुका साथै २०४६ सालको जनआन्दोलनमा तत्कालीन सरकारले राज्य द्रोहको आरोप लगाई सेनाको टुकडीले घर घेराउमा समेत पर्नुभएको थियो । प्रजातान्त्रिक आन्दोलनका अथक सङ्घर्षशील योद्धा महेश्वरलाल अविवाहित हुनुहुन्थ्यो ।

सल्लाहकार श्रेष्ठको निधनले काङ्ग्रेसले असल एवम् निष्ठावान नेता गुमाएको जिल्ला सभापति जीतनारायणद्वारा आज यहाँ जारी शोक विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा स्वर्गीय महेश्वरलालको सम्मानमा पार्टी कार्यालय कमलनगरमा पाँच दिन पार्टीको झण्डा आधा झुकाइने र कार्यालयमा १३ औं दिनसम्म शोक पुस्तिका राखिने उल्लेख छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi