काठमाडौ, जेठ १७
सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ल्याएको बजेटको कार्यान्वयन पक्षमा ध्यान दिन उद्योगी, व्यवसायीहरुले आग्रह गरेकाछन् । मिडिया इन्टरनेसनलले सोमबार आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले सरकारले ल्याएको बजेटको प्रावधानहरु सकारात्मक रहेपनि कार्यान्वयन पक्ष त्यतिकै चुनौतीपूर्ण रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले बजेट भाषण भन्दा पनि कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको बताए । उनले भने, ‘बजेट भाषण आफँैमा खराब हुँदैन । बजेटमा सरकारले दिन्न भन्ने केहि छैन । सबैचिज दिन्छु भनेको छ । तर कार्यान्वयनको पाटो कस्तो हुन्छ भन्नेमा ध्यान दिनुपर्ने देखिन्छ ।’ उनले गतवर्षको बजेट पनि राम्रै रहेको तर कार्यान्वयन हुन नसकेको स्मरण गरे । तल्लो तप्काका जनता जो कमाएर साँझबिहान हातमुख जोड्नुपर्ने अवस्थाका छन् उनीहरुलाई बजेटले के इफेक्ट गर्ला भन्नेमा ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ ।
उहाँले सरकारले बजेटमार्फत साना तथा मझौला उद्योगलाई छुट दिनेभने पनि जब व्यापार नै छैन भने छुटको के मतलव भयो ? भन्दै प्रश्न गरे । अहिले सरकार ऋणात्मक बजेटमा रहेको भन्दै उनले यो अवस्थामा सरकारले सामाजिक सुरक्षा भत्ता, राष्ट्र सेवकको भत्ता बढाउन नहुने बताए । उनले भने, ‘जब देश समृद्धि हुन्छ, तब सामाजिक सुरक्षा बढाउनु राम्रो हुन्छ । अहिले १०० बढाएर केहि उपलब्धी हुन्छ जस्तो लाग्दैन । राष्ट्र सेवकको २ हजार तलव बढाएर केहि फरक पार्दैन । यो देखावटी मात्र हो ।’
कार्यक्रममा नेपाल हिमालय सिमापार व्यापार संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले सरकारले ल्याएको बजेटमा स्वास्थ्य क्षेत्र, साना तथा मझौला व्यवसाय, विद्युतीय सामानको भन्सार छुट लगायतका पक्षलाई समेट्न सकेको भन्दै यो राम्रो पक्ष रहेको बताए । उनले बजेटले स्वदेशी उत्पादनलाई महत्व दिएको भन्दै लागु भएमा नेपालको उत्पादन क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने बताए । बजेट राम्रोसँग कार्यान्वयन भएमा नेपालको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ । उनले भने, ‘बजेटले धरासायी भएका व्यवसायलाई पुनर्कर्जाको व्यवस्था गरेको छ । यो राम्रो पक्ष हो । तर कार्यान्वयन पक्ष कस्तो हुन्छ, त्यसमा ध्यानदिनुपर्ने देखिन्छ ।’
हस्तकला महासंघ वागमति प्रदेशका अध्यक्ष होमनाथ उपाध्ययले बजेट कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, ‘बजेटमा ६२ प्रतिशत राजस्व असुली भन्ने छ, त्यो कति सम्भव छ । त्यसतर्फ ध्यान दिनुपर्नेछ ।’ गतवर्षहरुमा पनि सरकारले सर्टिफिकेट धितोमा राखेर लोन दिने भनेपनि खासै कार्यान्वयन हुनु नसकेको उनको भनाइ छ । सरकाले ल्याएको बजेट कार्यान्वयमा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा मिनरल वाटर एसोसिएसनका पूर्व अध्यक्ष धर्मनन्द श्रेष्ठले चुनावलाई रिझाउने खालको बजेट आएको बताए । अध्यादेशबाट बजेट आएको भन्दै राजनीतिक तरलताकाकारण सकारात्मकरुपमा लिन नसकिएको उनको भनाई छ । अर्बाै रुपैयाँको आयात गरेर देश घाटामा गएको अवस्थामा उत्पादनलाई बजेटले छुन नसकेको उहाँले बताउनुभयो । चुनावी बजेट भएकाले उत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाई छ ।
नेपाल व्यापार संघका अध्यक्षकुमार कार्कीले कार्यान्वयनमा ध्यानदिन सके बजेटले सबै कुरा समेटेको बताए । तर बजेटले लत्ताकपडा आयातमा भन्सार छुट दिन नसकोको भन्दै चर्को भन्सार कर तिर्न बाध्य भएको गुनासो गरे । राष्ट्रिय व्यापार संघका उपाध्यक्ष सरोजकुमार श्रेष्ठले सरकारले उद्योग क्षेत्रमा व्याजदर कमी गरेपनि पहुँचवालालाई मात्र सहज भएको बताए । कोरोनाकाकारण उद्योग, व्यापारको अवस्था नाजुक भएको अवस्थामा पुनरुत्थान गर्ने नीतिगतरुपमा सरलिकृत हुनुपर्ने उनको भनाइ छ ।
मह व्यवसायी धर्मराज श्रेष्ठले कृषि क्षेत्रमा पनि कच्चा पदार्थ र कामदारको अभाव हुनथालेको बताउनुभयो । कृषि क्षेत्रलाई बैंकले व्याजदरमा छुट नदिएको उनको गुनासो छ । नेपाल मौरीपालनमा आत्मनिर्भर हुन नसकेको भन्दै अन्य देशबाट मह ल्याउनु परेको बताए । व्यवसायी रमेशचन्द वादे श्रेष्ठले बजेटमा मेडइन नेपाल र मेक इन नेपाल भन्ने अवधारण राम्रो रहेको बताए । आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ । विगतमा बजेट कार्यान्वयको पक्ष फितलो हुने गरेको भन्दै उहाँले बजेट सहि कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा होटल व्यवसायी कमल शर्माले बजेट सुन्दा राम्रो देखिएको तर व्यबसायीले प्रत्यक्ष लाभ लिन नसक्ने बताए । उनले पनि बजेटको कार्यान्वयन पक्षलाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्नेमा जोड दिएका थिए ।