neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महामारीमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै श्रीकृष्ण प्रणामीका युवाहरु

महामारीमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै श्रीकृष्ण प्रणामीका युवाहरु

May 30th, 2021

-रीना श्रेष्ठ
काठमाडौ, जेठ १६

कोभिड १९को महामारीले विश्व नै आक्रान्त भईरहेको अवस्थामा सावधानी अपनाउन खोज्दा खोज्दै नेपाल पनि यसबाट अछुतो रहन सकेन । विभिन्न कमी कमजोरीका कारण र गत वर्ष कोभिड १९को सामना गरिसकेतापनि नेपाल सरकारको तयारी केही पनि नरहेका कारण दोश्रो चरणको कोभिडले पुनः एकपटक नेपाललाई थलाएको छ ।

पहिलाको कोभिड भन्दा भयानक रुपमा आएको दोश्रो लहरको कोभिडले संक्रमित संख्यामा उल्लेख्य वृद्धि मात्र नगरी मृत्युदरमा पनि निकै वृद्धि गरेको छ । अस्पतालहरुमा अक्सिजन नपाएर मृत्यु हुनेको संख्या र पशुपनि आर्यघाटमा देखिने लासको लस्कारले पनि अवस्था कति भयावह छ भन्ने कुरा स्पष्ट हुन्छ । एकातिर रोगको समयमा नै उपचार नपाउने र सरकारी व्यवस्थापन फितलो रहेका कारण मृत्यु हुनेको संख्या धेरै रहेको जन गुनासो त छँदै नै छ यहाँ भोकका कारण मर्नु न बाँच्नु भएको अवस्थाका मानिसहरुको बारेमा पनि काठमाण्डौ महानगरपालिकाले ध्यान दिएको देखिँदैन ।

संक्रमित, मृत्यु र निको हुनेको तथ्यांक त दैनिक हामीले सुन्न पाउँछौ तर दैनिक भोकले मरेको र पीडादायी अवस्थामा गुज्रिरहेका मानिसको कुनै तथ्यांक देखिँदैन । के काठमाण्डौ महानगरपालिका भित्र कोही भोकै नभएरै हो त ? पक्कै हैन यसको प्रमाण स्वरुप यहाँ सक्रिय रहेका विभिन्न सामाजिक संघ संस्थाहरुले दैनिक रुपमा अति विपन्न वर्ग, सडक, मन्दिर, पाटी, सत्तलमा जीवन गुजारिरहेका मानिसहरु र दैनिक मजदुरी गर्न नपाएका मानिसलाई खाना र राहत वितरण गरिरहेको अवस्थाबाट प्रष्ट हुन्छ । श्रीकृष्ण प्रणामी समाजले नवदुर्गा पार्टी प्यालेससँगको सहकार्यमा काठमाण्डौको व्यस्त सडक अन्तराष्ट्रिय विमानस्थलबाट नजिक रहेको तिलगंगामा दैनिक विहानको खाना वितरण गर्ने गरेको छ ।

रोगले त मानिसहरु मर्दै छन् जसमा हामीले अस्पतालहरु र सरकारको नै भर पर्नु बाहेक अरु उपाय नरहेतापनि भोकको लागि भने पक्कै हामीले पहिलो चरणको कोभिडबाट नै केही गर्न सक्छौ भन्ने लागेर हामीले खाना खुवाउने गरेको श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका राष्ट्रिय अध्यक्ष नमराज ढकालले बताए । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले यस दोश्रो चरणको कोभिडमा ५ वटा प्रदेश कमिटी र ४६ जिल्लामा रहेको संजालबाट हेल्प डेस्क समेत सञ्चालन गरिरहेको जसबाट निःशुल्क स्वास्थ्य चिकित्सा परामर्श, टेलिमेडिसिन परामर्श, अत्यावश्यक स्वास्थ्य सेवा सूचना सम्प्रेषण र एम्बुलेन्स र अन्य निःशुल्क सेवा दिइरहेको अध्यक्ष ढकालले बताए ।

खाना वितरण कार्यक्रममा भने सडकका मानिसमात्र नभई बेरोजगार भएका, डिग्री पास गरेर लोक सेवा तयारी गर्दै गरेको र अहिले आफूसँग खाने र्पैसा समेत नभएको भएर यहाँ खाना खान आएको सम्म भन्ने गरेको तितो अनुभव बताउँदै तिलगंगा परिसरको मात्र नभई चावहिल, रातोपुल, पुरानो वानेश्वर, मैतीदेवीदेखि पनि खाना खान आउने गरेको र कतिले त राहतको लागि समेत माग गर्ने गरेको ढकालले बताए । आज जम्मा भएको भीडलाई अड्कल गरी खाना बनाएर ल्यायो भोली आउँदा संख्या बढ्ने गरेकोले भोको मान्छे धेरै छन् भन्ने अनुमान लाउन सकिन्छ भने वितरणमा भने समस्या पर्ने गरेको ढकाल बताउँछन् ।

सामाजिक संघ संस्थाले गर्दै आएको खाना वितरणमा पनि काठमाण्डौ महानगरपालिकाले गाडीको पास वितरण गर्नुपर्ने र क्षेत्र छुट्याएर संघसंस्थाहरुलाई खाना खुवाउने तालिका छुट्याउने व्यवस्था गरिदिए सहज हुने समेत ढकालले बताए । गत वर्ष काठमाण्डौ महानगरपालिकाले सडकमा राखेर भोजन नगराउनु हामी पार्टी प्यालेसमा राखेर खाना खुवाएछौ भनेको कार्यक्रम गत वर्ष कतिको व्यवहारमा आए तर यसपाली भने कामनपा यस विषयमा भने मौन नै भएको देखिन्छ । दैनिक ज्यालादारी काम गर्न रोक नलगाएका कारण दोश्रो चरणको कोभिडमा स्वास्थ्यमा बढी केन्द्रित भएको श्रोतले जनाएको छ ।

कामनपाले आइसोलेशन केन्द्र स्थापना, पि.सी.आर र एन्टिजेन टेष्ट, वडास्तरबाट खोप कार्यक्रम, उपकरणहरु वितरण जस्ता कार्यक्रम गरेको श्रोतले जानकारी दिएका छन् । गत वर्षको महामारीमा संघ संस्थाहरसँग मिलेर खाद्यान्न वितरण र तीन लाखभन्दा बढीलाई खाना खुवाएको तथ्यांक कामनपाले सार्वजनिक गरेको थियो । तर यसपाली भने “भोको कोही पर्दैन, भोकले कोही मदैन” भन्ने कामनपाका मेयरको भनाईलाई अहिलेको अवस्थामा भने पुरै वेवास्ता गरेको देखिन्छ । मेयर ज्यू नारायणहिटी देखि त्रिपुरेश्वर सम्मलाई समेटेर सेन्ट्रल पार्क बनाउँदै गर्नुहोला, पूर्वाधार निर्माण गर्दै गरौला अहिलेको यस्तो महामारीको अवस्थामा भने तपाईले अति विपन्न, सडक जीवन विताइरहेका, अति जोखिममा परेकाहरुलाई मेयर फुड पार्लर खोल्ने तपाईको चुनावी एजेन्डालाई अविलम्ब शुरुवात गर्न आग्रह छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi