आधारभूमि संवाददाता
काठमाडौ, जेठ ५
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयलाई कक्षा ८ को नतिजा आन्तरिक मूल्यांकनबाट पठाउन निर्देशन दिएको छ ।
बुधबार महानगरले विज्ञप्ति निकाल्दै कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा लिनसक्ने अवस्था नरहेकाले आन्तरिक मुल्यांकन विधिबाट परीक्षा गर्न निर्देशन दिएको हो ।
कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नरहेकाले पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधिमा २० प्रतिशत गरी परीक्षाको मुल्यांकन गर्न निर्देशन दिएको महनगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए ।
जारी सूचनामा जेठ २५ गतेभित्र महानगरपालिको शिक्षा शाखामा विद्यार्थीको विषयगत मूल्यांकन विवरण पठाउन भनेको छ ।