neapl investment mega bank
  • गृहपृष्ठ
  • छाङ्गरु र तिङ्करमा ३६० लाई कोरोनाविरुद्धको खोप लगाइँदै

छाङ्गरु र तिङ्करमा ३६० लाई कोरोनाविरुद्धको खोप लगाइँदै

May 19th, 2021

दार्चुला, ५ जेठ /रासस

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो ।

व्यासको दुवै गाउँका बसाइँसराइ ९कुञ्चा० सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिनुभयो । उहाँका अनुसार छाङ्गरुमा ३०० तथा तिङ्करका ६० जनालाई खोप लगाइने छ । खोप जिल्ला आइपुगेको भन्दै उहाँले एक÷दुई दिनभित्रै खोप र आवश्यक औषधि लिएर छाङ्गरु र तिङ्कर जाने तयारी भएको बताउनुभयो । त्यहाँ रहेका स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत कोरोनाविरुद्धको खोप लगाइने छ ।

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले छाङ्गरु र तिङ्करका लागि आएको खोप तत्काल लगाउने निर्णय गरेको थियो । व्यासका स्थानीयवासी गत वैशाख पहिलो सातादेखि खलङ्गाबाट छाङ्गरुका लागि बसाइँ सरेका थिए । व्यासका स्थानीयवासी छ महिना सदरमुकाम खलङ्गामा छाङ्गरु र तिङ्करको जाडो छल्न आउने गर्छन् भने छ महिना खङ्लगाको गर्मी छल्न माथि उक्लिने गर्छन् । व्यासको भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर सरकारले नक्सा सार्वजनिक गरेपछि यो क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको छ । यस क्षेत्रमा विशेष कार्ययोजना बनाएर सरकारले कार्यक्रम अघि सारेको छ भने प्रदेश सरकारले पनि विशेष गौरवको योजना अघि बढाएको छ ।

अपिहिमालमा स्वास्थ्यकर्मीको घरैदलो सेवा

अपिहिमाल गाउँपालिकामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला स्वास्थ्यकर्मीले घरदैलो सेवा थालेका छन् । कोभिड सङ्क्रमित भएकाहरुको अवस्था बुझ्न तथा परामर्श सेवा र औषधि वितरण गर्न स्वास्थ्यकर्मीले घरदैलो सेवा थालेका हुन् ।

गाउँपालिकामा अहिलेसम्म देखिएका सङ्क्रमितमा कुनै प्रकारको समस्या भने देखिएको छैन । एकाएक जिल्लाकै विकट गाउँपालिकामा कोरोना फैलिएपछि गाउँपालिकास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २९ गते बसेको बैठकले गाउँपालिकाका टोलटोलमा स्वास्थ्यकर्मी खटाउने निर्णय गरेको थियो ।

पलिकाका ६ वटै वडाका टोलटोलमा पुगेर स्वास्थ्यकर्मीले कोभिड–१९ का कारण आइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अवस्था जाँच गर्ने तथा औषधि वितरण गर्ने, लक्षण देखिएका बिरामीको विवरण सङ्कलन गरी औषधोपचार गर्ने, कोभिड–१९ बाट बच्ने उपायबारे जनचेतना जगाउने तथा प्रत्येक टोलमा कम्तीमा दुई दिनमा एकपटक पुग्नैपर्ने कार्यादेश दिइएको थियो । सोही अनुरूप अहिले गाउँपालिकाभरिका स्वास्थ्यकर्मी घरदैलो कार्यक्रममा व्यस्त रहेको गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताउनुभयो ।

स्वास्थ्यकर्मी घरघर पुग्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ । रुघाखोकी लागेर आत्तिएकामा पनि कोभिड सहजरूपमा जित्न सकिन्छ भन्ने आत्मविश्वास बढ्दै गएको अपिहिमाल–३ का जवनी कार्कीले बताउनुभयो । गाउँपालिकाले गाउँपालिकाअन्तर्गत स्वास्थ्य संयोजक धामीको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटाएको छ ।

यस्तै वडा नं १ मा अहेव विक्रमसिंह लोथ्याल नेतृत्वमा तीन, वडा नं २ मा अहेव दिपेन मन्यालको नेतृत्वमा छ, वडा नं ३ मा अहेव रोहित ठेकरेको नेतृत्वमा तीन, वडा नं ४ मा अहेव हेल्थ असिस्टेन्ट गणेशराज जोशीको नेतृत्वमा आठ, वडा नं ५ मा अहेव महेशसिंह ठगुन्नाको नेतृत्वमा तीन, वडा नं ६ मा अहेव धनराज जोशीको नेतृत्वमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । यस्तै गाउँपालिकाको कोभिड अस्पताल सौगन्नामा स्टाफ नर्स आशा फगामी मगर र अनिशा ठेकरेलाई खटाएको छ ।