काठमाडौ, बैशाख २९
नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज हुनुभएको छ । उहाँ अहिले राति ८ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा उहाँ पूर्व महारानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।
अस्पतालमा उहाँलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि उहाँको स्वास्थ्यमा निकै राम्रो सुधार भएको थियो । कोरोनाका लक्षणहरु हराएपछि उहाँको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उहाँलाई आज डिस्चार्ज गरिएको हो ।
अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ । स्वास्थ्यमा सुधार भएसँगै उहाँलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ । उहाँलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आइसियूबाट वार्डमा सारिएको थियो । उहाँको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो । उहाँको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।
पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उहाँ आमासँग अस्पतालमै हुनुहुन्छ ।
पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गर्नुभएको थियो ।