आधारभूमि संवाददाता
काठमाडौ, २२ वैशाख
म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई २-० ले पराजित गर्दै समग्रमा ४–१ को जित निकाल्दै सिटी फाईनल प्रवेश गरेको हो ।
पहिलो लेगमा सिटीले पीएसजीलाई २-१ गोलले पराजित गरेको थियो ।
बुधबार राति भएको दोस्रो लेगमा सिटीलाई जित दिलाउन रियाद महरेजले दुई गोल गरे । रियाद महरेजले एक गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा गरेका हुन।
खेलको ११ औँ मिनेटमा महरेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि दोस्रो हाफको ६३ औँ मिनेटमा महरेजले फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।
खेलको ६९ औँ मिनेटमा पीएसजीका एन्जिल डि मारियाले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा सिमित बनेको थियो।
त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र सिटीले जित निकालेको हो ।
जितसँगै म्यान्चेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनल प्रवेश गरेको हो ।
अब सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासंग खेल्नेछ ।