neapl investment mega bank
  • गृहपृष्ठ
  • सभामुख र सांसदको कोभिड–१९ को पीसीआर परीक्षण बुधबार

सभामुख र सांसदको कोभिड–१९ को पीसीआर परीक्षण बुधबार

May 4th, 2021

काठमाडौँ, २१ वैशाख /रासस

सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण गराउने भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने सचिवालयले सूचनामार्फत जानकारी दिएको छ ।

सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पहिलो दिन परीक्षण हुने छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्र्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण बिहीबार हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न चाहनु भएको जनाउँदै यही वैशाख २७ गते सोमबार प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा १०० को उपधारा९१० बमोजिम प्रधानमन्त्रीले आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न चाहनुभएकाले आगामी सोमबार दिउँसो १ नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन आह्वान भएको हो । प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नसक्ने सवैधानिक प्रवधान छ ।