काठमाडौ, बैशाख १५
नेपाल स्काउट अब भने सबै स्थानीय निकाय हुँदै त्यहाँका सबै विद्यालयमा फैलिने भएको छ । नेपाल स्काउट प्रधान कार्यालयबाट बुधबार राजधानीमा आयोजित यस सम्बन्धी घोषणा कार्यक्रममा देशका सबै ७ सय ५३ पालिकाहरुमा स्काउट संरचना निर्माण गरिएको जानकारी दिइयो ।
नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार २००९ सालमा गठित संस्थालाई देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गरिएको हो । विगतमा सिमित क्षेत्रमा क्रियाशिल स्काउटको संरचना अहिले नयाँ राज्य संरचना अनुसार सातै वटा प्रदेश तहमा बनिसकेको छ ।
‘परम्परागत संरचनामा खुम्चिएर रहेको स्काउटले नयाँ संरचना सँगै समयको माग अनुसार गतिशिल हुने अवसर पाएको छ’, संयोजक भण्डारीले भने । विगतमा भन्दा अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै स्काउट गतिविधि बढेको पनि उनले बताए । परिणामस्वरुप विगत लामो समयदेखि निस्कृय देखिएको नेपाल स्काउटको अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाईमा पुगेको छ, उनले भने ।
स्थानीय संरचना अन्तर्गत हरेक विद्यालयमा कम्तिमा एक वटा स्काउट समिति बन्ने जानकारी पनि संयोजक भण्डारीले दिए । ति समितिहरु मार्फत विद्यार्थीले अनुशासन, कुलतबाट बच्ने उपाय, सामाजिक कार्यमा सक्रियता एवं शारीरिक तथा मानसिक विकास सम्बन्धी तालिम प्राप्त गर्ने छन् । स्काउटको इतिहासमा यस आर्थिक वर्षमात्र ५० हजार बढी स्काउट स्वयंसेवक परिचालन गरिएको र कोभिडको महामारीमा शव व्यवस्थापन सम्मका सामाजिक कार्यमा सक्रिय रहेको जानकारी पनि उनले दिए ।
नेपाल स्काउट ऐन २०५५ अनुसार प्रधानमन्त्री नेपाल स्काउटका संरक्षक र माननीय युवा तथा खेलकुद मन्त्री प्रमुख स्काउट हुने व्यवस्था रहेको छ भने, प्रदेशमा मुख्यमन्त्री संरक्षक सामाजिक विकास मन्त्री प्रमुख स्काउट हुने व्यवस्था हुनुका साथै स्थानीय पालिकामा, पालिका प्रमुख संरक्षक तथा पालिका उपप्रमुख प्रमुख स्काउट हुने व्यवस्था छ । यसबाट संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा नीतिगत रुपमै हरेक बिद्यालयमा स्काउट युनिटहरु संचालन हुने र हरेक पालिकामा स्काउट क्रियु संचालन हुने जानकारी पनि कार्यक्रममा दिइयो ।