neapl investment mega bank
  • गृहपृष्ठ
  • आइसीयू र भेन्टिलेटरसहितको आइसोलेशन तयार

आइसीयू र भेन्टिलेटरसहितको आइसोलेशन तयार

Apr 28th, 2021

लहान, १५ वैशाख /रासस

बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी सिरहामा २६ शय्याको आइसोलेशन तयार पारिएको छ । जिल्ला अस्पताल सिरहाको मातहतमा रहने गरी सदरमुकाम सिरहामा तत्कालका लागि २६ शय्याको आइसोलेशन शय्या तयार पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिनुभयो । बढ्दो कोरोना सङ्क्रमणको ग्राफलाई मध्यनजर गरी बजेट अभावका बाबजुद सिरहामा अक्सिजन प्लान्टसहित पाँच आइसीयू शय्या र दुई भेन्टिलेटरसमेत गरी २६ आइसोलेशन शय्या तयारी अवस्थामा राखिएको प्रजिअ कँणेलले बताउनुभयो ।

यस्तै भारतीय सीमावर्ती क्षेत्र सिरहाको माडरमा होल्डिङ सेन्टर स्थापनाका लागि स्थानीय तहबाट रु एक÷एक लाख आर्थिक सहयोगको आश्वासन आएकाले होल्डिङ सेन्टर स्थापनाको तयारी गरिएको उहाँको भनाइ छ । कोरोना सङ्क्रमण तीव्रगतिमा फैलिन थाले पनि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा थप आइसोलेशन शय्या थप्नेलगायत अपेक्षाकृतरूपमा पूर्वतयारीको काम गर्न नसकिरहेको प्रजिअ कँणेलले बताउनुभयो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को बैठकले विभिन्न शीर्षकमा प्रदेश सरकारसँग रु ४७ लाख माग गर्ने निर्णय गरी पठाए पनि हालसम्म बजेट प्राप्त नहुँदा समस्या भएको प्रजिअ कँणेलले जानकारी दिनुभयो । डिसीसिएमसीले जोखिम न्यूनीकरणका लागि रु २० लाख, सिआइसिटी मोबिलाइजेशन शीर्षकमा रु १० लाख, अत्यावश्यक औषधि खरिद गर्न रु २० लाख र एम्बुलेन्स तथा शववाहन परिचालन गर्न रु सात लाख प्रदेश सरकारसँग माग गरेको जनाएको छ । स्थानीय तहलाई आवश्यक पर्ने औषधि, जनशक्ति, सामग्री र स्वास्थ्य उपकरणको पर्याप्त बन्दोबस्त मिलाउनसमेत निर्देशन दिएको उहाँको भनाइ छ । सिरहामा हाल १२ नयाँ कोरोना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । तीमध्ये छ जनाको जिल्ला अस्पताल सिरहास्थित आइसोलेसनमा उपचार भइरहेको छ ।

शिक्षक आन्दोलनमा

शिक्षा ऐन तथा नियमावलीविपरीत शिक्षकको सरुवा गरेको भन्दै शिक्षकसँग सम्बद्ध सङ्घसङ्गठनले लहान नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । नगरपालिकाले शिक्षा नियमावली र ऐनविपरीत १३२ शिक्षकको सरुवा गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन सङ्घसङ्गठनले माग गरेका हुन् । तत्काल सरुवाको निर्णय फिर्ता नलिए पठनपाठन अवरुद्ध गर्ने चेतावनीसमेत दिइएको छ ।

नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, एकीकृत अखिल नेपाल शिक्षक सङ्घ, सङ्घीय समाजवादी शिक्षक फोरमले संयुक्तरूपमा नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै ऐन, नियमविपरीत भएको शिक्षक सरुवाको निर्णय फिर्ता लिन माग गरेका छन् । निर्णय फिर्ता नलिए वैशाख २२ गतेदेखि नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक शैक्षिक संस्था बन्द गरिने चेतावनी दिइएको छ ।

शिक्षा ऐन २०२८ को दफा १६ (ज) र शिक्षा नियमावलीको नियम ९९ बमोजिम शिक्षकहरूलाई सरुवा गर्ने अधिकार हालको अवस्थामा शिक्षा विकास तथा समन्वय एकाइमा रहेको, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११.२ (ज) मा आधारभूत र माध्यमिक शिक्षकलाई सरुवा गर्ने अधिकार नभए पनि नगरपालिकाले सरुवा गरेको शिक्षक सङ्घसङ्गठनको भनाइ छ ।

नगरपालिकाले चैत १३ गते १३ जनाबाट शुरु भएको सरुवा प्रक्रिया वैशाख १२ गतेसम्म आइपुग्दा १३२ जनाको सरुवा भएको जनाइएको छ । जसमध्ये पाँच राहत कोटाको शिक्षक र तीन महिनापछि सेवा अवकाश शिक्षकसमेत रहेको नेपाल शिक्षक सङ्घका अरविन्दकुमार दासले जानकारी दिनुभयो । आफूहरू अन्यायमा परेको भन्दै नगरपालिकाले गरेको सरुवा फिर्ता लिन तथा न्यायिक छानबिनका लागि उक्त सङ्घसङ्गठनले माग गरेका छन् ।

लहान नगर क्षेत्रभित्र ५९ सामुदायिक विद्यालय छन् । जसमध्ये मावि आठ र ५१ वटा आधारभूत आधारभूत विद्यालय छन् । ती विद्यालयमा नगरले २०७७ वैशाखदेखि हालसम्म तलबबाहेका कुनै पनि रकम पठाएका छैनन् । यता लहान नगरपालिकाका शिक्षा संयोजक राजकुमार साहले नगरपालिकाको अधिकार प्रयोग गरेर शिक्षक सरुवा गरेको जिकिर गर्नुभयो ।