काठमाडौ, बैशाख १०
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२१ को पहिलो तीन महिनामा १ हजार ३ सय ८१ जना पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेकले वैशाख ८ गते जारी गरेको प्रतिवेदनमा यो अवधिमा सबैभन्दा बढी महिला अधिकार उल्लङ्घनका घटनाबाट ७ सय ६ जना पीडित भएका उल्लेख गरिएको छ । यो अवधिमा राज्यपक्षबाट १६ जना महिलासहित २ सय २३ जना र अन्य पक्षबाट १ हजार ८१ जना महिलासहित १ हजार १ सय ५८ जना पीडित भएका प्रतिवेदनमा जनाइएको छ ।
मानव अधिकार स्थितिसूचक नाम दिइएको प्रतिवेदनमार्फत सार्वजनिक गरिएको तथ्याङ्कमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २ सय ५९ जना र सबैभन्दा कम प्रदेश २ मा ३४ जना महिला महिला अधिकार उल्लङ्घनका घटनाबाट पीडित भएका उल्लेख छ । यो अवधिमा ६३ जनाको हत्या भएको अभिलेख राखिएकोमा जुम्लामा एक जनालाई प्रहरीले यातना दिएका कारण मृत्यु भएको भनी राज्य पक्षबाट हत्याको सूचीमा एक जना रहेको तथ्याङक छ ।
तीन महिनाको अवधिमा राज्यले नागरिकको आधारभूत अधिकारको रक्षा र सुनिश्चितता गर्न नसकेका १ हजार १ सय ७७ घटनाहरू इन्सेकले प्रलेख गरेको छ । ती घटनामा १ हजार ३ सय ८३ जना पीडित भएका हुन् । अभिलेखित घटनामध्ये राज्यपक्षबाट ४१ र अन्यपक्षबाट १ हजार १ सय ३६ ओटा घटना रहेका छन् ।
त्यसैगरी अभिलेखित घटनामध्ये ७४प्रतिशत घटना महिला तथा बालिका हिंसासँग सम्बन्धित रहेको इन्सेकको अभिलेखले देखाएको छ । ‘सामाजिक न्याय र विधिको शासन पालनाको अवस्थामा सुधार गर्न नियामक निकायले थप पहलकदमी लिनुपर्ने तथा सामाजिक अभियान र संस्थागत प्रयासहरू सुदृढ गर्नु पर्ने आवश्यकता देखिन्छ ।’–प्रतिवेदनमा उल्लेख छ ।