आधारभूमि संवाददाता
काठमाडौं, बैशाख ९
गत फागुनको अन्तीम साताबाट देशमा फाट्टफुट्ट पर्यटक आउन थालेका थिए । आन्तरिक पर्यटक त ह्वात्तै बढे । जसका कारण पर्यटन क्षेत्र बिस्तारै तग्रिन थालेको थियो । तर कोरोना भाइरसको पछिल्लो लहरले फेरी पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको छ ।
अध्यागमन विभागका अनुसार २०७६ मा १० लाख १४ हजार विदेशी नेपाल आएकामा गत चैत सम्ममा ५२ हजार ९ सय ६९ जना आएका छन् । शुन्यको स्थिती नरहेपनि यो गत वर्षको तुलनामा ज्यादै न्युन हो । यसरी पर्यटक आउन कमि भएसँगै पर्यटन आयमा पनि भारी गिरावट आएको छ ।
महामारीका कारण नेपालीहरु बिदेश घुम्न जाने र विदेशी पर्यटक नेपाल आउने ठप्प जस्तै भएको छ । यसरी नेपालीहरु विदेश घुम्न जान नपाउँदा २० अर्ब ९१ करोड रकम नेपालमै रोकिएको छ ।
नेपालीहरु बिदेश घुम्न जानेमा त कमि आएको छ नै यता बिदेशीहरु नेपाल घुम्न आउनेमा पनि कमि आएको छ । जसका कारण विदेशी पर्यटक बापत आउने ठुलो रकममा पनि कमि आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको फागुन मसान्तसम्म पर्यटक आएबापत ५३ अर्ब ३५ करोड आम्दानी भएको थियो । जुन आम्दानी यो वर्षको सोहि अवधिमा ४ अर्ब ४५ करोडमा सिमित भएको छ । जुन गत वर्षको तुलनामा ९१ दशमलव सात प्रतिशतले कमि हो ।
कोरोना महामारीका कारण बाह्य देशमा घुम्न जाने लगभग ठप्प जस्तै भयो भन्दा फरक पर्दैन । जसले गर्दा मुलुकको सोधनान्तर स्थिती यतिबेला ६८ अर्बले बचतमा छ । किनभने नेपालीहरु बिदेश घुम्न जाँदा बाहिरिने ठूलो रकम नेपालमै रहेको छ ।
गत वर्षको चैत मसान्तसम्म भ्रमणका लागि मात्रै २५ अर्ब २१ करोड बाहिरिएको थियो । तर, गत वर्षकै चैत देखि सुरु भएको कोरोना महामारीका कारण नेपालीहरु घुम्न जाने र तालिममा जाने कमि ह्वात्तै कमि आएको छ । जसका कारण यो वर्षको चैत मसान्तसम्म ४ अर्ब ३० करोड मात्रै बाहिरिएको छ । यसरी हेर्दा गत वर्षको तुलनामा अहिले भ्रमणका लागि हुने यस्तो खर्चमा झन्डै ८३ प्रतिशतले कमि आएको छ भने २० अर्ब ९१ करोड रकम नेपालमै रहेको छ ।
महामारीका कारण आर्थिक क्रियाकलापमा संकुचन आएका छन् । पर्यटकबाट आउने रकममा त भारी गिरावट छ नै तर महामारीको सुखद पक्ष भने यो र अनलाइन कारोबार बृद्धि मात्रै भएको छ।