neapl investment mega bank
  • गृहपृष्ठ
  • राजनीतिक दलहरूबीच समन्वय र समझदारी हुने सभामुखको विश्वास

राजनीतिक दलहरूबीच समन्वय र समझदारी हुने सभामुखको विश्वास

Apr 14th, 2021

काठमाडौँ, १ वैशाख /रासस

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुने अपेक्षा गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ, “सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास लिएको छु ।” अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ संकल्प आवश्यक रहेको भन्दै सभामुखले प्रतिबद्धताहरू व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने बताउनुभएको छ ।

उहाँले संसद्लाई जीवन्त र जनमुखी बनाउन सङ्घीय संसद्को नेतृत्वको हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले भन्नुभएको छ, “हामीले मानव सभ्यता र अस्तित्वलाई नै चुनौती खडा हुने गरी फैलिएको कोभिड–१९ को महामारी, ठूला ठूला प्राकृतिक विपत्ति र संवैधानिक सङ्कट ब्योहोरेर विक्रम सम्वत् २०७७ साललाई बिदा गरेका छौँ ।”

सङ्कट अझै टरेको छैन भन्दै सभामुखले हामीले गत वर्षभन्दा अझ बढी सजक र सतर्क भएर अघि बढ्नुपर्ने अवस्था रहेको तथा महामारीविरुद्ध सङ्घर्ष जारी रहेको स्पष्ट पार्नुभएको छ । उहाँले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि अधिक पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सभामुखले संविधान सभामार्फत नयाँ संविधान जारी भएपछि हामी यसको कार्यान्वयनको चरणमा रहेको र संविधानको मर्म, भावनाअनुसार गर्नुपर्ने धेरै काम बाँकी नै छन् भन्नुभएको छ । उहाँले विधि र नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कार विकासमा अभिप्रेरित हुँदै दलहरूभित्र विधिलाई लोकतान्त्रिक, पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भइरहने छ भन्ने आशा व्यक्त गर्नुभएको छ । सभामुखले अनुशासित भएर कोभिड–१९ लाई जित्ने प्रणसहित शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।