कास्की, ३० भदौ (रासस)
आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) मा आर्चरीका लागि १६ खेलाडी छनोट गरिएका छन् ।
यही भदौ २८ गतेदेखि आजसम्म पोखरा रङ्गशालाको आर्चरी मैदानमा सञ्चालन भएको छनोट प्रतिस्पर्धाबाट १७ पुरुष र ११ महिलामध्येबाट रिकर्भका लागि चार/चारजना पुरुष तथा महिला खेलाडी छनोट गरिएका नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङले बताउनुभयो ।
पुरुषतर्फ असिम शेरचन(पोखरा), रोशननगरकोटी(आर्मी), डम्बरबहादुर थापा(आर्मी) तिलक पुन मगर(प्रहरी) तथा महिलामा मित्र राई(आर्मी), ज्ञानु अवाले(आर्मी), विष्णुमाया लिम्बू(पोखरा) र आइसा तामाङ(आर्मी) रहेका छन् । आर्चरीमा रिकर्भ र कम्पाउण्ड क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ । कम्पाउण्डतर्फ भने यसअघिनै चार पुरुष र चार महिला खेलाडी छनोट गरी सकिएका खेलाडी छनोट समितिका संयोजक वसन्त थकालीले जानकारी दिनुभयो ।
जसमा पुरुषतर्फ रमेश भट्टचन(काठमाडौँ) सनातन मल्ल(काठमाडौँ), योगेन्द्र शेरचन(पोखरा) र मीनप्रसाद गौचन(काठमाडाँै) छन् । महिलातर्फ पार्सदा आचार्य(काठमाडाँै) मोनिका राना(पोखरा), रश्मी दर्लामी मगर(पोखरा) र मञ्जु बजगाईँ(आर्मी) रहेका छन् । सागमा छनोट भएका खेलाडीको बन्द प्रशिक्षण आगामी असोज १ गतदेखि पोखरा रङ्गशालामा शुरु हुने सङ्घले जनाएको छ ।
सागमा आर्चरीतर्फ १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । रिकर्भ पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्ट पदका लागि प्रतिस्र्धा हुने थकालीले जानकारी दिनुभयो ।
श्रीलङ्काको कोलम्बोमा भएको सागको १०औँ संस्करणबाट आर्चरी खेल प्रतियोगितामा समावेश गरिएको थियो । पहिलोपटक कुनै पनि पदक नजितेको नेपालले ११औँ संस्करणमा रिकर्भ क्याटेगोरीमा पुरुष टिम इभेन्टमा काश्य पदक प्राप्त गरेको थियो भने १२औँ सागमा रिकर्भतर्फ पुरुष व्यक्तिगतमा काश्य पदक ल्याएको थियो । यसपटक घरेलु मैदानमा प्रतियोगिता सञ्चालन हुने भएकाले स्वर्ण पदकको आश गरिएको र खेलाडीले समेत सोहीअनुसार कडा मेहनत गरिरहेका सङ्घका अध्यक्ष गुरुङले बताउनुभयो ।