neapl investment mega bank
  • गृहपृष्ठ
  • महासंघ प्रतिनिधिमण्डल र राष्ट्रिय योजना आयोगका उपाध्यक्षबीच भेट, निर्माण उद्योगको समस्याबारे छलफल

महासंघ प्रतिनिधिमण्डल र राष्ट्रिय योजना आयोगका उपाध्यक्षबीच भेट, निर्माण उद्योगको समस्याबारे छलफल

Apr 1st, 2021

काठमाडौ, चैत १९

नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधि मण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कडेँललाई भेटी निर्माण व्यवसायीहरूका समसामयिक समस्या र समाधानका सम्बन्धमा जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधि मण्डलले कडेँललाई विश्वमा महामारीकोरुपमा पैmलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण निर्माण व्यवसाय थप मारमा परेको बारे अवगत गरायो । जवाफमा उपाध्यक्ष कडेँलले म्याद थप र भुक्तानी समस्याका कारण निर्माण व्यवसायीहरू समस्यमा रहेको बारे आफू जानकार रहेको बताए । उनले छिट्टै विकास मन्त्रालयहरूको बैठक डाकेर समस्या समाधानका लागि ठोस पहल गर्ने आश्वास पनि दिए ।

महासंघ प्रतिनिधि मण्डलले निर्माण कार्यको म्याद थप, धरौटी रकम फिर्ता लगायतका विषयमा आफ्नो लिखित सुझाव पेश गरेको छ । योजना हस्तान्तरण, क्रेडिट लाइनको कमिशन, डिजेलमा लागेको मुल्य अभिवृद्धिकर फिर्ता सम्बन्धमा पनि महासंघले आफ्नो लिखित धारणा पेश गरेको छ । स्रोतमा कट्टी भएको अग्रिम मुल्य अभिवृद्धि.कर रकम फिर्ता, जरिवाना, ब्याज र थपदस्तुर छुट सम्बन्धमा समेत महासंघले आफ्नो आधिकारिक धारणा राखेको महासंघको विज्ञप्तिमा जनाइएको छ । हाल संसदमा संशोधनको लागि दर्ता भएको सार्वजनिक खरिद ऐन, २०६३ र मस्यौदाको रुपमा रहेको निर्माण व्यवसाय ऐन, २०५५ लगायतका निर्माणसँग सम्बन्धित कानूनहरु निर्माण मैत्री हुने गरी संशोधन गरिनुपर्ने माग पनि महासंघले अघि सारेको छ ।

विगत केही समय यता देशका विभिन्न भागमा निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र निर्माण कार्यका लागि प्रयोगमा रहेका यन्त्रउपकरणमाथि अज्ञात समुहबाट पटक पटक भइरहेको श्रृखंलावद्ध आक्रमण तथा आगजनीका घटनाबारे पनि महासंघ प्रतिनिधि मण्डलले उपाध्यक्ष कडेँलको ध्यानाकर्षण गराएको छ । महासंघ प्रतिनिधि मण्डलमा उपाध्यक्षआङ दोर्जी लामा, महासचिव रोशन दाहाल, सदस्य अशोक केसी, कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अघिकृत रामचन्द्र गिरीको सहभागिता रहेको थियो ।