neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न

Mar 24th, 2021

काठमाडौं, चैत ११

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को १९ औं वार्षिक साधारण सभा बुधवार काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ मा रु.३१ करोड ९१ लाख २६ हजार ७ सय ९१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७६/७७ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

चालु आ.व.को पौष मसान्तसम्म ६१ जिल्लाका १४० शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ४६ हजार ९ सय ८६ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.१६ अर्व ५५ करोड २५ लाख पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.१० अर्व १० करोड ०५ लाख १७ हजार रहेको छ ।

राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । सभाले जारी तथा चुक्ता पूँजी रु.९४ करोड ३० लाख कायम गर्ने निर्णय गरेको छ । सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा राम प्रसाद पाण्डेलाई निर्विरोध निर्वाचित गरेको छ ।