neapl investment mega bank
  • गृहपृष्ठ
  • कि प्याड मोबाइलमा चलाउन सकिने वालेट आउँदै, इन्टरनेट पनि नचाहिने

कि प्याड मोबाइलमा चलाउन सकिने वालेट आउँदै, इन्टरनेट पनि नचाहिने

Mar 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत ११

नेपाल टेलिकमले इन्टरनेट बिनानै चल्ने वालेट सञ्चालनमा ल्याउन लागेको छ । अहिले सञ्चालनमा रहेका वालेटहरुलाई इन्टरनेट मात्रै होइन, माबोइल फोन पनि स्मार्टफोन पनि चाहिन्छ। तर टेलिकमले ल्याउन लागेको वालेट भने कि प्याड मोबाइलमा नै चलाउन सकिन्छ ।

अहिले इ सेवा तथा खल्ती लगायत अन्य डिजिटल वालेट सञ्चालनमा छ्न् । तर तिनको सञ्चालनका लागि इन्टरनेटको आवश्यकता पर्छ । नेपाल टेलिकमले भने इन्टरनेट बिनानै चलाउन सकिने वालेटको सञ्चालनमा ल्याउने तयारी गर्दैछ ।

यो सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले कम्पनीलाई चैत ३ मा अनुमति दिइसकेको छ । कम्पनीमा नेपाल टेलिकमको ६२ र राष्ट्रिय वाणिज्य बैंकको ३८ प्रतिशत लगानी छ । यो नेपाल टेलिकमको सहायक कम्पनी भएपनि सेवा भने एनसेलका ग्राहकलाई समेत दिने कम्पनीको तयारी छ ।वालेट सञ्चालनमा आएमा यसले डिजिटल नेपालको लागि एक खुड्किलो अघि बढाउनेछ ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको लगानी रहेको नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले वालेटको कारोबार गर्न गत चैतमा नै नेपाल राष्ट्र बैंकबाट अनुमति पाइसकेको छ ।

अहिलेका वालेट सञ्चालनका लागि मोबाइल पनि स्मार्ट खालको हुनुपर्छ । सामान्य मोबाइलबाट ती वालेटको सेवा सम्भव हुँदैन ।वैशाखदेखि प्रयोगमा ल्याउन लागिएको वालेटका लागि भने इन्टरनेट चाहिंदैन । सामान्य खालको मोबाइलबाटै पानी र बिजुलीको महशुल तथा कर तिर्न मिल्ने व्यवस्था गर्न लागिएको हो । त्यसका लागि मोबाइल फोन सेवाको नेटवर्क चाहिन्छ ।

अहिले एउटा मोबाइबाट अर्काेमा जसरी ब्यालेन्स पठाइन्छ, त्यसैगरि युएसएसडी कोडको सहायतामा बिल तिर्न सकिनेछ । कम्पनीले टेलिकमका साथै एनसेलका प्रयोगकर्ताले समेत सेवा लिन सक्ने व्यवस्था गर्न लागेको छ

कम्पनीले सुरु गर्न लागेको वालेटमा रिचार्ज कार्डबाट भने रकम राख्न मिल्दैन । अर्थात फोन सेवाका लागि ब्यालेन्स गरेको रकम कर तिर्न र बिल भुक्तानीमा प्रयोग गर्न मिल्दैन । वालेटमा रकम राख्ने प्रयोजनका लागि कम्पनीले देशैभर एजेन्ट तोक्दैछ । बृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता सरकारी खाताबाट सिधै सम्बन्धित व्यक्तिको वालेटमा जम्मा गराउने कम्पनीको योजना छ ।