neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नगरपालिका बजारका गिज्याउने खाल्डाखुल्डी

नगरपालिका बजारका गिज्याउने खाल्डाखुल्डी

Mar 24th, 2021

– खेमराज गौतम,
गलकोट, ११ चैत /रासस

बागलुङ नगरपालिकाको भित्री सडकका रूपमा रहेको गोदामचोक हुँदै कृषि विकास बंैकबाट अदालत रोडसम्मको सडकमा सोमबार राति गुडिरहेको मोटरसाइकल सडकको नालीमा खस्यो । कृषि विकास बैंक अगाडिको घुम्तीमा नालीको स्लेप भत्किएको दुई वर्ष बित्न लाग्यो । नगरपालिकाले स्थानीयवासी र यात्रुको गुनासोपछि केही महिना अघि स्लेप बनायो पनि तर त्यो अझैसम्म व्यवस्थित गरेर नहाल्दा रातको समयमा दुर्घटनाको जोखिम छ ।

नगरपालिकाले मुख्य सडकका रूपमा रहेको समीक्षालय चोकबाट जीपपार्क चोकसम्म चिल्लो सडक बनाए पनि भित्री सडकको दुरावस्था छ । खाल्डाखुल्डी र स्लेपबिनाको सडकले नगरपालिकालाई गिज्याइरहेको छ । स्लेपको मात्रै होइन, भित्री सडकमा नगरपालिकाले खाल्डाखुल्डी पुर्नका लागि गत वर्ष कच्चा सामग्री त खसाल्यो तर कालोपत्र नहुँदा झनै सडक क्षतविक्षत भएको स्थानीयवासी ईश्वर मलेपतीले गुनासो गर्नुभयो ।

“चार वर्षअघि नगर खानेपानीले पाइप खन्दा भत्काएको सडक कालोपत्र हुने कुरा त टाढाको कुराजस्तो भयो, त्यहीँमाथि दुई वर्षदेखि बीच सडकमा राखिएको नालीको स्लेप राखिएको छैन”, मलेपतिले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, “नगरपालिकाले ठूला–ठूला विकास गर्न थालेर होला, धराप थापेको सडक मर्मतमा नलागेको, गत वर्ष सडकमा गिट्टी झारेको थियो, सडक मर्मत होला भनेको त अहिलेसम्म भएन, बिच्छ्याएका गिट्टीहरु तितरवितर भएर झनै समस्या भयो ।”

अहिले रातिको समयमा स्लेप नभएको नालीमा मोटरसाइकलहरू खस्ने गरेको स्थानीयवासीको भनाइ छ । पटक–पटक सडक मर्मतका लागि नगरपालिका, वडा नं २ र ३ मा भने पनि कुनै सुनुवाइ नभएको मिलीजुली टोल विकास समितिका अध्यक्ष रुद्र महतले बताउनुभयो । “यो सडक दुई वडाको बीचमा पर्ने भएरसमेत होला, कुनै सुनुवाइ भएको छैन”, महतले भन्नुभयो, “दैनिकजसो दुर्घटना हुन्छ, कतिलाई अस्पताल नै लगिन्छ, नगरपालिकाले चार वर्षदेखि सडक मर्मत गर्न नसक्नु लज्जाको विषय बनेको छ ।”

यस चोकको सडक मात्रै होइन, एक दर्जन भित्री सडक चार वर्षदेखि मर्मत भएका छैनन् । गुठी, पेन्सन क्याम्प, बागलुङ एफएम चोक र देउराली चोकलगायतका जीर्ण सडक मर्मत हुनसकेका छैनन् । नगर खानेपानीले पाइप लाइन खनेको गुठी क्षेत्रमा हालसम्म सडक मर्मत हुनसकेको छैन । नगर खानेपानीले सडक मर्मत गर्ने रकम नगरपालिकाले सिगाना जाने सडक र उपल्लाचौर जाने सडक कालोपत्र गरेकाले झनै समस्या पैदा भएको छ ।

निकै महत्वाकाङ्क्षी योजना ल्याउँदै आएको नगरपालिकाले धेरै सकारात्मक कामसमेत गर्दै आए पनि सानातिना सडक मर्मतमा ध्यान पुग्न सकेको देखिन्न । नगरपालिका प्रमुख जनकराज पौडेलले आफ्नो कार्यकालभित्रै नगरका सबै वडामा नगर बस सञ्चालनका लागि स्तरीय सडक बनाउने र अधिकांश वडा कार्यालयसम्म सडक कालोपत्र गर्ने योजना रहेको बताउँदै आउनुभएको छ । अहिले बजार बाहिरका वडामध्ये ५ र ७ मा कालोपत्र पुर्याउने काम चलिरहेको छ भने वडा नं ६ को कार्यालयमा कालोपत्र सडक पुर्याइसकेको छ । यस्तै रायडाँडाबाहेकका वडामा बस सञ्चालनसमेत भइरहेका छन् तर नगरपालिकाको केन्द्र साविक अञ्चल सदरमुकामभित्रै सडक योजनाको दुर्दशाले पालिका र जनप्रतिनिधिलाई जिस्क्याइरहेको मात्रै छैन, पटक–पटक दुर्घटना भएर नगरवासीलाई झस्काउनसमेत थालेको छ ।

नगरपालिकाले खाल्डाखुल्डी पुर्ने अभियान बजेट विनियोजनसहित चलाइरहे पनि केही सडक छुटेको नगरपालिकाका वरिष्ठ योजना प्रशासकीय अधिकृत तथा सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । “नगरमा धेरै विकासले फड्को मारेको छ तर सडकमा कतै खाल्डाखुल्डी नहुन् भन्ने धारणा हो”, सूचना अधिकारी सुवेदीले भन्नुभयो, “केही चोक र भित्री सडक मर्मतमा ढिलाइ भएको महसुस गरेका छौँ, असारभित्र खाल्डाखुल्डीमुक्त बजार बनाउँछौँ, बजेटको प्रबन्धसमेत हुँदैछ ।”

नगरपालिकाका इञ्जिनीयर मनोज शर्माका अनुसार गोदामचोक हुँदै कृषि विकास बंैकबाट अदालत रोडसम्मको सडक असारभित्रै मर्मत गरिने बताउनुभयो । यो आर्थिक वर्षमा सडक बोर्डको रु ९२ लाखसहित नगरपालिकाको साझेदारीमा रु एक करोड ४३ लाख रकमले सडक मर्मत गर्ने इञ्जिनीयर शर्माको भनाइ छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi