आधारभूमि संवाददाता
काठमाडौं, चैत ९
भन्सार विभागका अनुसार, आयात अहिले २ दशमलव १४ प्रतिशतले बढेको छ । गत वर्षको फागुन मसान्तसम्म ९ खर्ब २४ अर्बको आयात भएकामा यो वर्षको सोहि अवधिमा यस्तो आयात ९ खर्ब ४३ अर्ब कायम भएको छ ।
आयात बढेका कारण ब्यापार घाटा पुन उकालो लागेको छ । माघसम्म शुन्य दशमलव ६६ प्रतिशतलले ऋणात्मक रहेको ब्यापार घाटा फागुन देखि १ दशमलव ६३ प्रतिशतले उकालो लागेको छ ।गत वर्षको यो अवधिमा ८ खर्ब ४९ अर्बको ब्यापार घाटा भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो ब्यापार घाटा १ दशमलव ६३ प्रतिशतले बढेर ८ खर्ब ६३ अर्ब पुगेको छ ।
सरकारले निर्यात बढाउन नगद अनुदानका कार्यक्रम मात्रै होइन, उत्पादन बढाउन मौद्रिक नीति मार्फत सहज रुपमा सस्तो कर्जा समेत उपलब्ध गराइएको छ । तर, पनि राज्यको यस्तो कार्यक्रम सफल हुन सकेको छैन ।कृषिजन्य वस्तु, मोबाइल, सवारी साधनको आयात बढेकाले आयात व्यापार बढी देखिएको जानकारहरु बताउँछन् ।
आठ महिनामा सबैभन्दा बढी डिजेल ४७ अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने ६७ अर्ब ३ करोड रुपैयाँको आयात भएको थियो । डिजेलको आयात परिमाण घटेकाले रकम कम भएको हो ।
एमएस बिलेटको आयात बढेको छ। जसका कारण पनि ब्यापार घाटा बढ्न थालेको हो । यसको आयात ४४ अर्ब ४५ करोड रुपैयाँको भएको छ । गत वर्षको आठ महिनामा ३२ अर्ब २४ करोड रुपैयाँको मात्रै आयात भएको थियो ।
यस्तै मोबाइल टेलिफोन पनि उल्लेख्य रूपमा आयात भएको छ । तथ्यांकअनुसार आठ महिनामै २६ अर्ब ३० करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको पहिलो आठ महिनामा १४ अर्ब ३७ करोड रुपैयाँको आयात भएको थियो ।
भटमासको कच्चा पदार्थकै आयात भएको छ । आठ महिनाको अवधिमा यो २५ अर्ब २ करोड रुपैयाँको आयात भएको छ । एलपी ग्ग्यास आयातमा २१ अर्ब ५ करोड, तयारी कपडा आयातमा २० अर्ब ८ करोड र पेट्रोल खरिदमा १९ अर्ब २६ करोड रुपैयाँ बिदेसिएको छ ।
सरकारले यहि वर्ष ब्यापार घाटा न्युनिकरण कार्ययोजना समेत पहिलो पटक मन्त्रीपरिषद्बाट पास गरेको थियो । निर्यात प्रवर्धन गर्ने र आयातमा कमि ल्याउने उद्देश्यका साथ आएको यो कार्ययोजना ठोस रुपमा कार्यान्वयनमा आउन नसक्दा ब्यापार घाटा पुरानै अवस्थामा फर्केको छ ।
भन्सार विभागका अनुसार लकडाउनका बेला मासिक ८० अर्ब रुपैयाँ बराबरको मात्रै आयात भएको थियो । जसका कारण आयातमा केहि कमि आई ब्यापार घाटामा केहि संकुचन आएको थियो । तर अहिले यस्तो आयात १ खर्ब २० अर्ब रुपैयाँमा पुगेको छ । जसका कारण ब्यापार घाटा पनि उकालो लागेको छ ।निर्यात बढाउन नसक्दा नै ब्यापार घाटा उकालो लागेको हो । आर्थिक गतिविधी बढेसँगै उपभोग बढेको छ । जसका कराण आयातमा बृद्धि भएको जानकारहरु बताउँछन् ।
निर्यात पनि नबढेको भने होइन । तर आयातको तुलनामा निर्यात नगन्य भएको हुँदा निर्यातको बृद्धिले ब्यापार घाटा कम गर्ननै सकेको छैन । गत वर्ष फागुन मसान्तसम्म ७४ अर्बको निर्यात भएकामा यो वर्षको सोहि अवधिमा यस्तो निर्यात ७ दशमलव ८४ प्रतिशतले बढेर ८० अर्ब पुगेको छ । जबकी आयात भने ९ खर्ब ४३ अर्बको छ ।