neapl investment mega bank
  • गृहपृष्ठ
  • अफगानिस्तानको घाटा बजेट पूर्ति गर्न मुद्राकोषबाट ४६ प्रतिशत ऋण

अफगानिस्तानको घाटा बजेट पूर्ति गर्न मुद्राकोषबाट ४६ प्रतिशत ऋण

Mar 18th, 2021

काबुल, ५ चैत /रासस/सिन्ह्वा

अन्तर्राष्ट्रिय मुद्रा कोषले अफगानिस्तानका लागि २२ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । चालू आर्थिक वर्षका लागि अफगानिस्तानको राष्ट्रिय बजेटमा रहेको घाटा पूर्ति गर्न प्रदान गरिने उक्त ऋण करिब ४६ प्रतिशत रहेको स्थानीय संचार माध्यमले जनाएका छन् ।

यो सहित अफगानिस्तानको कूल राष्ट्रिय ऋण एक अर्ब ५० करोड डलर पुगेको छ । मुद्राकोषले प्रदान गर्ने ऋण यसअघि अफगानिस्तानले तिर्नु बुझाउनुपर्ने ऋणको पुनर्भुक्तानीका लागि हो ।अफगानिस्तानको पर्सियाली पात्रो अनुसार डिसेम्बर २१ देखि नयाँ आर्थिक वर्ष शुरु हुने गर्दछ । अफगानिस्तानको चालू आर्थिक वर्षको कूल बजेट करिब ६ अर्ब डलर रहेको छ जसमा करिब ४ अर्ब चालू खर्च र करिब २ अर्ब पूँजीगत खर्च रहेको छ ।

गृहयुद्ध र दिनहुँका हिंसाका कारण सङ्कटमा परेको अफगानिस्तानमा गरिबी, बेरोजगारी र सुख्खाले आम मानिसको दैनिक जीवन निकै कष्टमय बनाएको छ । अफगानी अधिकारीहरुका अनुसार सन् २०१९ मा करिब ५५ प्रतिशत अफगानी नागरिक गरिबीको रेखामुनि रहेका छन् । तर, विश्व बैंकको भनाईमा गत वर्ष गरिबीको रेखामुनि रहेका मानिसको संख्या ७२ प्रतिशतसम्म पुगेको छ ।