– लक्ष्मीप्रसाद सापकोटा,
पर्वत, १ चैत /रासस
गाउँमा भविष्य नदेखेपछि शहर झरेका आजभोलि गाउँमा देखिन थालेका छन् । व्यवसाय सञ्चालन र सुविधाको खोजीमा शहर झर्नेलाई अचेल गाउँले मोहनी लगाउन थालेको छ । गाउँका स्वास्थ्यचौकीमा सुविधा थपिएको छ । बजारमा पाइने सामग्री गाउँमा सहज ढङगले ढुवानी गर्न सकिने भएको छ । यति मात्र होइन गाउँमा अचेल पर्यटकको चहलपहल शुरु हुन थालेको छ ।
यस्तै एउटा उदाहरणीय गाउँ बनेको छ पर्वत जिल्लाको मोदी गाउँपालिका–८ को चित्रे । पञ्चासे लेकसँग जोडिएको चित्रे आफैँमा मनोरम गाउँ हो । चित्रेको उपल्लो भेगमा गुरुङ जातिको बसोबास छ । मिश्रित जात बस्ने चित्रेमा अन्य जातजातिका मानिसको पनि बसोबास छ । पर्वत र कास्कीको सिमाना पर्दछ पञ्चासे लेक ।
यो धार्मिक र पर्यावरणीय हिसाबले पञ्चासे लेक अलौकिक लेक हो । यहाँ बहुमूल्य जडीबुटी पाइन्छन् । यो लेकको काखमा छ चित्रे । उच्च पहाडी सतहमा रहेको चित्रे पछिल्लो समय चर्चामा छ । यहाँका केही घरधुरीमा नेपालीपनका आतिथ्यता छ । केही रकम खर्च गरेर नेपालीपनको अनुभव गर्न पाइन्छ । नेपाली खाना, नेपाली बसाइँ र नेपाली संस्कृति चित्रे गाउँको विशेषता हो । गर्मी मौसममा शीतलता पाइने यो ठाउँ प्राकृति स्रोतले भरिएको छ ।
गाउँमा झण्डै एक दशकदेखि घरबास ९हामेस्टे० सेवाको शुरुआत गरिएको छ । यो अवधिमा घरबासमा आउने पर्यटकको सङ्ख्या निकै उच्च देखिन्छ । पर्यटक गाउँमा आउन थालेपछि अहिले घरबास सेवा विस्तार गरिएको छ । पर्यटकको आवश्यकतालाई महसुस गर्दै गाउँमा ‘एटेच’ शौचालयसहितका कोठा निर्माण गरिएको छ । पर्यटकको सङ्ख्या उच्च भएकाले घरबास सञ्चालकले नयाँ घरको निर्माण गरी आवासगृह निर्माण गरिरहेका छन् ।
यो अवधिमा मात्रै एक दर्जनभन्दा बढी घर पुनर्निर्माणमा छन् । पुराना घरमा कोठा थप गर्ने र सजाउने काम गरेर उनीहरुले सुविधा सम्पन्न आवासगृह बनाउन लागेका छन् । यति मात्र होइन पोखरामा होटल व्यवसाय सञ्चालन गर्दै आइरहेका पनि अहिले गाउँमा नै घरबास सेवा सञ्चालन गर्न जुटेका छन् ।
होम स्टे सञ्चालक समितिका अध्यक्ष सुशीला गुरुङ भन्नुहुन्छ्, “पर्यटकको सङ्ख्या बढ्न थालेपछि पोखरामा गर्ने व्यवसाय अब गाउँमै हुन थालेको छ, सडकको सहज पहुँच तथा गाउँको न्यानो आतिथ्यताका कारण चित्रेमा आउने पर्यटकको सङ्ख्या उच्च छ ।”
पूर्व भागमा पञ्चासे लेक र उत्तरी क्षेत्रमा टहटह देखिने हिमशृङ्खला । दक्षिण र पश्चिम क्षेत्रमा छिमेकी गाउँ । जिल्ला सदरमुकामदेखि झण्डै १८ किलोमिटरको पूर्वी दिशा । सदरमुकामदेखि करीब एक घण्टा ३० मिनेट गाडीको यात्राबाट पुग्न सकिन्छ चित्रे । “कच्ची सडकको यात्रा पार गरेर गाउँमा पुग्दा कोकिल कोइलीको आवाज र मन्दमन्द चलेको हिमालको चिसो हावामा जो कोही पनि आनन्दित हुन्छ । दुःख बिर्सन्छ । पीडा भुल्दछ र खुशीमा रमाउँछ”, वडाध्यक्ष सुकबहादुर गुरुङले भन्नुभयो ।
स्थानीय परिकारको स्वाद र संस्कृतिको धनी छ चित्रे । ‘चित्रे होम स्टे’ सञ्चालनमा आएपछि चित्रे अझै चर्चामा आएको हो । “चित्रेवासीको मन पवित्र छ ”, होम स्टे अध्यक्ष गुरुङले भन्नुभयो । उहाँको अगुवाइमा सिङ्गो गाउँ अघि हिँडेको छ । स्थानीय शिक्षक मधुसुदन अधिकारी गाउँका अगुवा हुनुहुन्छ । गाउँलाई पर्यटन र संस्कृतिसँग जोड्न उहाँको ठूलो योगदान छ । आतिथ्यता र सभ्यता उहाँले गाउँभरि सिकाउनुभएको छ ।
यतिमा मात्र चित्रेका कथा सकिँदैन । यो गाउँले पर्वतमै पहिलो सफल घरबास सञ्चालन गरेको हो । बसाइँसराइले रित्तिँदै गए पनि औपचारिक र अनौपचारिक कार्यक्रम लिएर अचेल गाउँमा पर्यटक भित्रिने गरेका छन् । सस्तो र सुलभ मूल्यमा खाना परिकार घरबासले व्यवस्थापन गरेको छ ।
महाशिलाका सबै वडामा अनलाइन घटना दर्ता
महाशिला गाउँपालिकाका सबै वडामा अनलाइनमा घटना दर्ता शुरु भएको छ । गत वर्षदेखि शुरु भएको अनलाइन घटना दर्ता गर्न पूर्वाधार विस्तार भइरहेकोमा हालै सबै वडामा सेवा विस्तार गरिसकिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्तालगायतका कार्य अनलाइनमार्फत गर्न थालेपछि सेवाग्राहीको काम छिटो, छरितो हुने अध्यक्ष पौडेलले बताउनुभयो । गाउँपालिकाले सबै वडामा इन्टरनेटको सेवा पु¥याएर इन्टरनेट र सफ्टवेयरको माध्यमबाट व्यक्तिगत घटना दर्तालाई प्रविधियुक्त बनाएको पौडेलले बताउनुभयो ।
अनलाइनमा नै घटना दर्ता गराई प्रिन्ट गरी प्रमाणपत्र प्रदान गर्दा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने र दस्तावेज सुरक्षित गराउन सहज हुने गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत बुद्धिराम शर्माले बताउनुभयो ।
अनलाइनमा घटना दर्ता गराउँदा दर्ता प्रमाण हराएमा वा केही भएमा पुरानो प्रणालीअन्तर्गत खोजी राख्न समस्या नहुने र सजिलै कम्प्युटरका माध्यमबाट प्रदान गर्न सकिनेछ । सरकारले सेवाग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले २०७२ सालदेखि पञ्जीकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाइन प्रक्रियामार्फत गर्ने घोषणा गरेको भए पनि गाउँपालिकामा इन्टरनेट तथा पूर्वाधारका कारण अनलाइन प्रणाली शुरु हुन सकेको थिएन ।
जिल्लाको कुश्मा नगरपालिकाले पनि १४ वडामध्ये अहिलेसम्म नौ ओटा वडामा अनलाइन घटना दर्ता सेवा विस्तार गरेको छ । चालु आर्थिक वर्षमा सबै वडामा सेवा विस्तार गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिनुभयो । जलजला गाउँपालिकाले पनि सबै वडामा गत वर्ष नै अनलाइन घटनादर्ताको काम शुरु गरिसकेको छ ।