बागलुङ, २९ फागुन /रासस
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो या त्यो बहानामा पार्टीको महाधिवेशन पछाडि धकेल्दै जानु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले कांग्रेसको महाधिवेशन समयमा नहुँदा नेपालको लोकतान्त्रिक प्रणाली नै कमजोर बनेको टिप्पणी गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले राजनीतिमा देखिएका विकृतिबाट देशलाई जतिसक्दो चाँडो मुक्त गर्नुपर्ने धारणा राख्नुभयो । “अहिले महाधिवेशन गरेर बस्न पाएको भए कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने राम्रो मौका आएको थियो, आज कांग्रेस आफँै अधिवेशनविहीन अवस्थामा छ, अलपत्र पारिएको छ, यो दुःखद् छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो ।
विकसित राजनीतिक परिस्थितिमा कांग्रेसको काँधमा महत्वपूर्ण अभिभारा आएको उल्लेख गर्दै उहाँले ससंदीय प्रक्रियाबाटै राष्ट्रलाई निकास दिइने उल्लेख गर्नुभयो । उहाँले सत्ता साझेदारीका लागि नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टीबीच छलफल चलिरहेको बताउनुभयो ।