neapl investment mega bank

विधान टुंङग्याएन जसपाले

Mar 12th, 2021

काठमाडौँ, २८ फागुन /रासस

पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न आज भएको जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक अनिर्णित भएको छ ।

सिंहदरबारमा अपराह्न शुरु भएको बैठकमा करिब दुई घण्टा दलको विधानका विषयमा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेन । विधानको मस्यौदा तयार गर्न दुई सदस्यीय कार्यदल गठन गरिएको छ । पार्टीका नेता अनिल झा र रामसहाय यादव रहेको कार्यदलले विधानमा समेट्नुपर्ने विषयवस्तुबारे छलफल र परामर्श गरी पूर्णता दिने जसपाले जनाएको छ ।

बैठकले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेपनि केही विषय थपघट गर्नुपर्ने भएकाले त्यसलाई पूर्णता दिएर पारित गर्ने निर्णय भएको जसपाका नेता केशव झाले जानकारी दिनुभयो । विधान पारित भएपछि मात्रै संसदीय दलको नेता चयन गर्न बाटो खुल्ने उहाँको भनाइ छ । बैठकपछि जसपाका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि उहाँकै निवास बुढानिलकण्ठ पुग्नुभएको थियो ।

अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायतका नेता छलफलका लागि कांग्रेस सभापति देउवा निवास जानुभएको नेता झाले बताउनुभयो । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र हुनुहुन्छ । सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । जसपाले बन्दी नेताकार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायतको माग राख्दै आएको छ ।