neapl investment mega bank
  • गृहपृष्ठ
  • माधवनारायणको ब्रत विधि पूरा, वर्तालु फुकुवा

माधवनारायणको ब्रत विधि पूरा, वर्तालु फुकुवा

Feb 28th, 2021

काठमाडौँ, १६ फागुन /रासस

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना साँखुस्थित शालीनदीमा कठोर माधवनारायणको ब्रत बसेका वर्तालुले आज फुक्का गरेका छन् । माधवनारायणको ब्रत फाल्गुन कृष्ण प्रतिपदाका दिन विधिपूर्वक फुक्का गरिन्छ । वर्तालुले आज बिहान साँखुस्थित ज्योतिर्लिङ्गेश्वरको सुन्दरीघाटमा स्नान गरी चलाखु टोलमा रहेको अजिमास्थानमा आएर ब्रत विसर्जन गरेका छन् ।

ब्रत विसर्जनपछि वर्तालुले आ–आफ्नो टोलको गणेशस्थानमा गएर पूजा आराधना गर्ने विधि रहेको साँखुका पत्रकार पवनलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो । टोलको गणेश मन्दिरमा पूजा आराधना गरेपछि ब्रत बसेका बेला एक महीनासम्म आगो तापेको अगेनोमा पनि पूजा गरिन्छ । अगेनाको पूजापछि त्यही अगेनामा अण्डा पकाएर खाएपछि ब्रत फुकुवा हुने विधि रहेको उहाँले बताउनुभयो । वर्तालुले यो विधि पूरा गरेसँगै आजदेखि माधवनारायणको ब्रत विधि सकिएको छ । वर्तालुलाई महाशिवरात्रिका दिन भोज खुवाउने गरिन्छ ।

विगत वर्षमा करीब ४०० जनाले माधवनारायण ब्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ ब्रतमा राखिएको थियो । एक महिने ब्रत अवधिमा साँखुबाट पशुपति हुँदै दक्षिणकाली, काभ्रेपलाञ्चोक जिल्लाको सांस्कृतिक शहर पनौती र भक्तपुरको चाँगुनारायणमा खाली गोडा पैदल यात्रा गरी तीर्थ जाने परम्परा छ । एक महीनासम्म वर्तालुले शुद्ध एवं सात्विक खानपिनसहित ब्रत बस्नुपर्छ ।

महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक ब्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण ब्रतको संस्कृति संरक्षण पूरा गरेको श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो । कोरोना महामारीका बीच पनि यस वर्ष माधवनारायणको ब्रत र मेला दुवै सफलतापूर्वक सम्पन्न गरिएको उहाँले सुनाउनुभयो ।