आधारभूमि संवाददाता
काठमाडौँ,१६ फागुन
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले १३ अंकको अग्रता बनाएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले वेस्ट ह्यामलाई २-१ गोलले पराजित गरेको हो ।
सिटीलाई जित दिलाउन रुबेन डायस र जोन स्टोनले एक-एक गोल गरे।वेस्ट ह्यामका माइकल एन्टोनियोले एक गोल गरे ।
खेलको ३० औं मिनेटमा रुबेन डायसले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर खेलको ४३ औं मिनेटमा वेस्ट ह्यामका माइकल एन्टोनियोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६८ औँ मिनेटमा सिटीका जोन स्टोनले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।
जितसँगै सिटीले २६ खेलबाट ६२ अंक जोडेको छ र शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ ।पराजित वेस्ट ह्यामको २६ खेलबाट ४५ अंक छ र चौंथो स्थानमा छ ।