भरतपुर, ११ फागुन /रासस
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेसनद्वारा सोमबार चितवनको सौराहामा आयोजित ‘सुशासन र समृद्धिका लागि सञ्चार’ विषयक अन्तक्र्रियामा फाउण्डेसनका केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पौडेलले नेपालको राजनीतिमा जननेता भण्डारीको मार्गनिर्देशन महत्वपूर्ण रहेको बताउनुभयो ।
फाउण्डेसन पार्टीको भन्दा पनि स्वायत्त संस्था भएकाले सफल नेतृत्व प्रदान गरी यसलाई जनतामाझ लैजानुपर्ने उहाँको भनाइ थियो । जनताको बहुदलीय जनवादका १४ वटा सिद्धान्तलाई सबैले पछ्याउँदै जानुपर्ने आवश्यकता रहेको उहाँले प्रष्ट पार्नुभयो ।
फाउण्डेशनका केन्द्रीय सचिव पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेशका नेकपा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, सचिव एवं फाउण्डेशनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं सदस्यको सहभागिता थियो ।