neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पाँचौ निर्वाचन दिवस, २०७७ “निर्वाचनमा सबै, सधैँ, सँगै” भन्ने मूल नाराका साथ सम्पन्न

पाँचौ निर्वाचन दिवस, २०७७ “निर्वाचनमा सबै, सधैँ, सँगै” भन्ने मूल नाराका साथ सम्पन्न

Feb 19th, 2021

काठमाडौ, फागुुन ७

पाँचौ निर्वाचन दिवस, २०७७ “निर्वाचनमा सबै, सधैँ, सँगै” भन्ने मूल नाराका साथ सम्पन्न भएको छ । निर्वाचन आयोगले सम्वत् २०१५ सालमा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै सम्वत् २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएकोमा यस वर्षको पाँचौ निर्वाचन दिवस, २०७७ “निर्वाचनमा सबै, सधैँ, सँगै” भन्ने मूल नाराका साथ फागुन ६ र ७ गते निर्वाचन आयोग र सबै जिल्ला निर्वाचन कार्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने सिलसिलामा २०७७ फागुन ७ गते शुक्रबार आयोगका पदाधिकारी तथा सचिवालयका कर्मचारीहरु आयोगको सभा हलमा र जिल्ला निर्वाचन कार्यालयका सम्पूर्ण कर्मचारीहरू भर्चुअल माध्यमबाट सहभागी भई मूल समारोहको आयोजना गरिएको हो । उक्त कार्यक्रम प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले डिजिटल प्रविधिबाट उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा “निर्वाचन” बिषयमा कविता वाचन प्रतियोगिता समेत आयोजना भएको र प्रतियोगितामा विभिन्न १५ जना कर्मचारीहरुले भाग लिई भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट कविता वाचन गरेका थिए । कविता वाचन प्रतियोगितामा आयोगमा कार्यरत उपसचिव कोमलप्रसाद धमला पहिलो, जिल्ला निर्वाचन कार्यालय, गोरखाका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईराला दोश्रो र जिल्ला निर्वाचन कार्यालय, खोटाङका जिल्ला निर्वाचन अधिकारी कोपिला राईले तेश्रो स्थान प्राप्त गरेका थिए । विजयी प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । पाँचौ निर्वाचन दिवसको अवसरमा आयोग र अन्तर्गत कार्यालयमा अविछिन्न रुपमा २० वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेका १४ जना कर्मचारीहरुलाई प्रसंशापत्र र नगद पुरस्कारबाट सम्मानित गरिएको थियो भने निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरी योगदान पु¥याउने आयोग र अन्तर्गत कार्यालयका ७ जना कर्मचारीहरूलाई“उत्कृष्ट कर्मचारी पुरस्कार” सहित प्रसंशा पत्रबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसाल, कम्प्यूटर इञ्जिनियर हरिप्रसाद पोखरेल र हलुका सवारी चालक महेन्द्र मानन्धर तथा जिल्ला निर्वाचन कार्यालय, खोटाङका जिल्ला निर्वाचन अधिकारी कोपिला राई, जिल्ला निर्वाचन कार्यालय, सुनसरीका कम्प्यूटर अपरेटर अजय कुमार मिश्र, जिल्ला निर्वाचन कार्यालय, डोल्पाका कम्प्यूटर अपरेटर श्यामकुमार राई, जिल्ला निर्वाचन कार्यालय, डोटीका नायव सुब्बा दलबहादुर मलासी रहनु भएको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरस्कृत सबै कर्मचारीहरुलाई बधाइ दिंदै यस्ता सम्मान, प्रसंशा र पुरस्कारले कर्मचारीहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्वि भई कार्यसम्पादनस्तर थप वृद्वि हुने विश्वास व्यक्त गरे । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने आयोगको अर्जुनदृष्टि रहेको, इतिहाँसको विरासत र साखलाई खुम्चन नदिइ आयोगलाई उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायको रुपमा पहिचान दिलाउन कृतसंकल्पित भइ निरन्तर प्रयासरत रहने प्रतिवद्वता व्यक्त गरे । स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न÷गराउन प्राविधिक तथा व्यवस्थापकीय रुपमा आयोग सक्षम रहेको कुरा व्यक्त गर्दे राजनीतिक दलहरुले निर्वाचनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने कुरा समेत बताए ।

कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहाल र डा. जानकी कुमारी तुलाधरले पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दे आसन्न निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, मतदाता, सरोकारवालाहरु र कर्मचारीले आ–आफ्नो भूमिका र जिम्मेवारीका साथ क्रियाशील हुन आव्हान गरेका थिए । कार्यक्रममा निर्वाचन आयुक्त इश्वरी प्रसाद पौड्याल र रामप्रसाद भण्डारी तथा आयोगका सचिव सुरेश अधिकारी सहित आयोग सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi