neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारले निष्पक्ष निर्वाचनका धज्जी उडायो- राप्रपा अध्यक्ष डा. लोहनी

सरकारले निष्पक्ष निर्वाचनका धज्जी उडायो- राप्रपा अध्यक्ष डा. लोहनी

Feb 10th, 2021

नुवाकोट, माघ २८

संविधानविपरीत चुनावको घोषणा गर्ने सरकारले राजनीतिक नियुक्ति गरेर निष्पक्ष निर्वाचनको धज्जी उडाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आपत्ति जनाएका छन् । ‘चुनावको घोषणासँगै एकातिर संविधानको उपेक्षा गर्ने अर्कोतर्फ विकासको नाममा सयौं राजनीतिक नियुक्ति गरेर सरकार आफैंले निर्वाचनको निष्पक्षतामाथि प्रश्न चिन्ह खडा गरीदिएको छ,’ राप्रपा अध्यक्ष लोहनीले पत्रकार भेटघाटको क्रममा बुधबार भने ।

‘आफ्नै अक्षमताको कारण विकास खर्च कटौती गर्ने सरकारले बिना कुनै मापदण्ड तीन सयभन्दा बढी उपसचिव स्तरको राजनीतिक कार्यकर्ता भर्ती गर्नु गैरजिम्मेवारीको पराकाष्ठा हो । यो नै धाँधलीको सुरुवात पनि हो । यस्ता क्रियाकलापलाई संवैधानिक अंगहरुले नियन्त्रण गर्न नसक्ने हो भने देश दुर्घटनामा पर्ने निश्चित छ,’ लोहनीले भने । गृह जिल्ला आएका राप्रपा अध्यक्ष लोहनीले भने, ‘आम निर्वाचनपछि जनताले सुशासन र गुणस्तरीय आर्थिक विकासको आशा गरेका थिए । त्यो आशा चकनाचुर भएको छ ।’

राप्रपाले संवैधानिक राजसंस्था र पहिचानको लागि सनातन हिन्दुराष्ट्रको आवश्यक्ता ठहर गरेको उनले प्रष्ट पारे । ‘सरकार जनताप्रति इमानदारी भएन, प्रतिपक्षले सरकारको जनविरोधी क्रियाकलापविरुद्ध आवाज उठाउन सकेन । यस अर्थमा सरकार र प्रतिपक्ष दुवै असफल भएका छन्,’ लोहनीले भने । ‘यस परिवेशमा देशमा प्रजातन्त्र बचाउन र देशलाई दुर्घटनाबाट जोगाउन राप्रपाले जनतालाई विकल्प दिनु अनिवार्य भएको छ ।’