neapl investment mega bank

हाइकिङले जगायो आशा

Feb 8th, 2021

गण्डकी, २६ माघ /रासस

धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित थप्रेक, व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोटलगायतका क्षेत्रमा हाइकर्स क्लब नेपालले गरेको हाइकिङले यहाँको पर्यटकीय विकासमा आशा जगाएको छ ।

हाइकिङका माध्यमबाट गण्डकी प्रदेशभित्रका पर्यटकीय गाउँको उजागर गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो १६ औँ शृङ्खला थप्रेकमा सम्पन्न गर्दै यहाँका प्रकृति र संस्कृतिका विविध पक्षको स्थलगत अध्ययन एवं अवलोकन गरेको क्लबका उपाध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुभयो ।

धौलागिरि हिमालदेखि लमजुङ गोरखासम्मका हिमाल हुँदै पर्यटकीय नगरी पोखरा, तनहुँको सदरमुकाम दमौली आदिलाई एक साथ नियाल्न सकिने यी ठाउँ पर्यटकीयरूपमा उपयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

हाइकर्स क्लबको समूहलाई स्वागत गर्दै शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले थप्रेक, गलाफु भञ्ज्याङ, गलेखामकोटलगायतका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन आवश्यक भएको बताउनुभयो । हाइकर्स क्लबको एक दिवसीय हाइकिङले आशा जगाएको उल्लेख गर्दै उहाँले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्न पूर्वाधार विकासलगायतका कामलाई आफूहरू निर्वाचित भएपछि प्राथमिकतामा राखेर अघि बढाइएको उहाँको भनाइ थियो ।

धार्मिकरूपमा यहाँका विभिन्न स्थलको आफ्नै विशिष्टता भएको जानकारी दिँदै उहाँले धार्मिक आस्था र विश्वासका थप्रेक कोट, गलाफु शिवालय, गलेखामकोटका साथै लामो समय खडेरी परेमा पानी मागिने तीर्थस्थल माइको थान आदि र यहाँबाट देखिने हिमाली तथा पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने बताउनुभयो । थप्रेकमा रहेका ठूलाठूला गर्हा, पोखरी पनि यहाँको पहिचान भएको बताउँदै वडाध्यक्ष पौडेलले पर्यवरणीयरूपमा विशेष महत्व राख्ने पोखरीको संरक्षणलाई वडाले जोड दिएको बताउनुभयो । काठेपिपल, सिलिङ्गे, पोखरी थोक, अर्चलेलगायतका स्थान दृश्यावलोकनका लागि आकर्षक गन्तव्य रहेको उहाँले जानकारी दिनुभयो ।

थप्रेक टोल विकास संस्थाका अध्यक्ष टलबहादुर गुरुङले पर्यटकीयरूपमा आकर्षक गन्तव्य भएर पनि यहाँको सम्भावनालाई पर्यटन बजारमा उपयोग गर्न नसकिएको धारणा राख्नुभयो । ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य नगेनसिंह ठकुरी, जुमबहादुर गुरुङलगायतले यस क्षेत्रका सम्भावनालाई उजागर गर्नसके पर्यटन यहाँको समृद्धिका लागि महत्वपूर्ण आधार बन्न सक्नेमा जोड दिनुभयो ।