काठमाडौँ, २१ माघ /रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोध्नुभएको छ ।
नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुप¥यो ?” भनी प्रश्न गर्नुभएको हो । उहाँले जनताले बन्द नभई निर्वाचन चाहेको बताउनुभयो ।
“बन्द भनेपछि हिँडडुल गर्न पाइएन । केही किन्न जान पाइएन । पढ्न जान पाइएन । जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्”, उहाँले भन्नुभयो । उहाँले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने, पार्टी फुटाउने र धुलो पार्न खोज्ने, कम्युनिष्ट पार्टीको बदनाम गर्न खोज्नेले कम्युनिष्ट क्रान्तिकारीको गफ दिएको आरोप लगाउनुभयो । उहाँले अब सबै एकताबद्ध सही निर्णयका साथ गतिका साथ अगाडि बढ्ने र ‘समृद्ध नेपाल, र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताले आफूहरुलाई मतदान गर्ने भएकाले नेकपाको बहुमत आउने दाबी गर्नुभयो ।
उहाँले सबै जिल्लामा सुकुम्बासी आयोग गठन भइसकाले काम अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुकुम्बासीको समस्या समाधन नगर्दा देशको समस्या समाधान हँुदैन । तपाईहरुको समस्या समाधान नगर्दा जनताको उद्देश्य पूरा हुँदैन”, उहाँले भन्नुभयो, “त्यसैले सरकार आफ्नो उद्देश्यमा असफल हुन तयार छैन । सुकुम्बासीको समस्या समाधान हुन्छ ।”
“पार्टीमा एउटा शुद्धीकरण हुनै पर्दथ्यो । तपाई सबैले देख्नुभयो । पार्टी पार्टी जस्तो थियो र ? पार्टी झैँ चलेको थियो र ? पार्टी जस्तै चलेकै थिएन ?” उहाँको भनाइ रहेको थियो, “पार्टी पार्टी जस्तो नचलेकाले एउटा किनारा लाग्नुपर्ने थियो । त्यो आफ्नै ढङ्गले किनारा लाग्यो ।”