पोखरा, २१ माघ /रासस
नेपाल पर्यटन बोर्डका सिइयो धनञ्जय रेग्मीले कोभिड–१९ को मारमा परेको पर्यटन क्षेत्रलाई उकास्न सरकारले सहज ऐन, नियम र नीति ल्याउनुपर्ने बताउनुभएको छ ।
बाह्रखरी अनलाइनले पोखरामा आयोजना गरेको कोभिड–१९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास विषयक कार्यक्रममा उहाँले सरकारले व्यवसायीको भावनालाई बुझ्न नसकेको र नीति नियम झण्झटिलो बनाइदिँदा पर्यटनले गति लिन नसकेको बताउनुभएको हो ।
सिइयो रेग्मीले पर्यटन क्षेत्रमा तीन तहका व्यवसायी रहेको उल्लेख गर्दै सरकारको मौद्रिक नीतिले आफ्नो पर्यात सम्पत्तिबाट व्यवसाय सञ्चालन गरेकालाई मात्रै प्राथमिकता दिएको तर भाडामा व्यवसाय सञ्चालन गरेका, यस क्षेत्रमा काम गर्नेका बारेमा नसोचेको बताउनुभयो । उहाँले भन्नुभयो, “मौद्रिक नीति र व्यवसायी पुनर्कर्जा कोष निकै झण्झटिलो छ, समयमा कार्यान्वयन हुन पनि सकेको छैन, यसले साना तथा मझौला व्यवसायीलाई समेटेन । यस्ता कतिपय कारणले पनि पर्यटन क्षेत्रको गतिमा अवरोध आएको छ ।”
उहाँले हरेक ठाउँमा पर्यटन व्यवसायीले समस्या राख्दै गरे पनि सरकारले व्यवसायीको समस्या नसुनिएको बताउनुभयो । “हामीले निकै पहल गरिरहेका छाँै, व्यवसायीले राख्दै आएका अनगिन्ती समस्या सुनाइरहेका छौँ तर सरकारले समस्या सुनेर सुझाव ग्रहण गर्न खोज्दैन, यसरी पर्यटन कसरी उकासिन्छ रु” उहाँले ‘अन अराइभल भिसा’ र क्वारेन्टिनको बारेमा पटकपटक कुरा उठाउँदा पनि झन सात दिनबाट १० दिन क्वारेन्टिन बस्नुपर्ने नियम बनाउनु सरकार पर्यटन क्षेत्रप्रति अनुदार रहेको प्रष्ट भएको बताउनुभयो । पर्यटनले गति लिन मूल बाटो बनाएर जानेभन्दा सरकारले व्यक्तिपिच्छेका हजार बाटा बनाउन खोज्ने विज्ञका कुरालाई नसुन्दा समस्या देखिएको उहाँको भनाइ छ ।
युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष निरञ्जन श्रेष्ठले कोभिड–१९ को समयमा र कोभिड पछाडिको समयमा कसरी जाने र पर्यटन एवं अन्य क्षेत्रलाई गति प्रदान गर्ने भन्नेबारेमा सरकारले विश्लेषणसहित स्पष्ट दृष्टिकोण ल्याउन नसकेको बताउनुभयो । “असहज अवस्थामा सरकारले अभिभावकको भूमिका पूरा गरेर व्यवसायीलाई आत्मविश्वास बढाउनुपर्ने हो तर सरकारनै निरीह देखियो”, उहाँले भन्नुभयो, “मौद्रिक नीति राम्रो भए पनि कार्यान्वयन प्रक्रिया झण्झटिलो भएकाले समग्रमा यो व्यवसायीको हितमा छैन् ।”
पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अर्जुन पोखरेलले कोभिड–१९ को समयमा सङ्घले व्यवसायीका समस्या सरकारसमक्ष राख्दै आएको बताउँदै सरकारको नीतिले व्यावसायिक क्षेत्रमा ठूलो अर्थ राख्ने भएकाले नीतिगत तहबाटै पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा व्यवसायीले थप झञ्झट भोग्न बाध्य भएको उल्लेख गर्दै व्यवसायीमैत्री नीतिको खाँचो औँल्याउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले व्यवसाय सञ्चालनका लागि महानगरले सहजीकरण गर्ने बताउँदै पोखराको दिगो पर्यटन विकासमा महानगरले विविध योजना अघि बढाएको छ भन्नुभयो । उहाँले विकासमा सकारात्मक सोचसहित सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरधारी शर्मा पौडेलले कोभिड–१९ का कारण समस्यामा परेका व्यवसायीको लागि प्रदेश सरकारले रु एक अर्बको व्यवसाय जीवन रक्षा कोष शुभारम्भ गरेको र यसबाट प्रदेशका १५ हजार व्यवसायी लाभान्वित हुने बताउनुभयो । विभिन्न चार तहमा वर्गीकरण गरेर ५० हजार देखि १५ लाखसम्म बिनाब्याज ऋण प्रदेश सरकराले प्रदान गर्ने उहाँको भनाइ छ । उहाँले प्रदेशमा ७५ किसिमका तालीमको माग भएकाले सोको लागि पनि प्रदेश सरकारले बजेट विनियोजनसहित कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो ।
बाह्रखरी अनलाइनका समाचार सम्पादक बलराम पाण्डेले पर्यटन क्षेत्रका विविध विषयका बारेमा प्रश्न राख्नुभएको थियो । उक्त अनलाइनले नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याउने उद्देश्यअनुरुप यही माघ २३ गतेदेखि २५ गतेसम्म पोखरामा ‘आमन्त्रण गल्फ प्रतियोगिता’ गर्दैछ । सोही सन्दर्भमा बाह्रखरीले यस क्षेत्रका सरोकारवाला निकायसँग समन्वय गरेर पर्यटन केन्द्रित कार्यक्रम गरेको अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी दिनुभयो ।