neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसद्वारा राजीनामा

अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसद्वारा राजीनामा

Feb 3rd, 2021

वासिङ्टन, २१ माघ /रासस/एएफपी

अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गर्नु भएको छ । सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रुपमा रुपान्तरण गर्ने श्रेय बेजोसमाथि छ ।

अमेजनमा रहेको सम्पत्तिका आधारमा विश्वकै धनाढ्य व्यक्तिको सूचीमा रहेका बेजोसले यस वर्षको तेस्रो चौमासिक अवधिमा कम्पनीको कार्यकारी अध्यक्ष रहने र प्रमुख कार्यकारीको भूमिका एन्डी जेस्सीलाई हस्तान्तरण गर्ने बताउनु भएको छ । जेस्सीले हाल अमेजन वेब सर्भिसेजको नेतृत्व गरिरहनु भएको छ ।

कोरोनाभाइरस महामारीका कारण जताततै लडकडाउन भएपछि अनलाइन व्यवसाय फस्टाएका कारण अमेजनको पनि नाफा झण्डै दोब्बर अर्थात् ७।२ अर्ब डलर भएको थियो । कम्पनीले गरेको कूल कारोबारमा पनि ४४ प्रतिशतले वृद्धि भएर एक खर्ब २५ अर्ब डलरभन्दा बढी पुगेको थियो ।

अमेजनका कर्मचारीलाई सम्बोधन गरिएको पत्रमा बेजोसले आफू अमेजनका गतिविधिका साथै परोपकारी कार्यहरुमा सक्रिय रुपमा सहभागी हुने बताउनु भएको छ । उहाँले हाल डे वान फन्ड र बेजोस अर्थ फन्ड नामका दुई परोपकारी अभियान सञ्चालन गरिरहनु भएको छ ।

हाल ५७ वर्ष पुगेका बेजोसले अमेजन सन् १९९४ मा आफ्नो ग्यारेजबाट शुरु गर्नु भएको थियो । हाल अमेरिकामा यस कम्पनीले अनलाइन खुद्रा ९रिटेल० व्यवसायमा प्रभाव सिर्जना गरिसकेको छ भने यसले संगीत र टेलिभिजनको स्ट्रिमिङका साथै खाद्य, क्लाउड कम्प्युटिङ, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र अरु नवीन परियोजनामा काम गरिरहेको छ ।
उहाँका अन्य व्यवसायहरुमा दी वासिङ्टन पोस्ट अखबार र निजी अन्तरिक्ष संस्था ब्लू ओरिजिन रहेका छन् ।

अमेजनको प्रमुख कार्यकारीका रुपमा नियुक्त हुन लाग्नु भएका जेस्सीले सन् १९९७ मा मार्केटिङ व्यवस्थापकका रुपमा काम शुरु गर्नु भएको थियो । उहाँ सन् २००३ देखि अमेजन वेब सर्भिसेजमा कार्यरत हुनुहुन्छ । बेजोसले जेस्सी बेजोड प्रतिभा र नेतृत्व रहेको बताउँदै उहाँमाथि आफ्नो पूर्ण विश्वास रहेको बताउनु भएको छ ।

बेजोसको नेतृत्वमा व्यापक प्रगति गरेको अमेजनको मुख्यालय सियाटल, वासिङ्टनमा रहेको छ र यसले अमेरिकी राजधानी बाहिर दोस्रो मुख्यालय पनि बनाउँदैछ । अमेजनको बजार मूल्य मंगलबार झण्डै १६ खर्ब ९० अर्ब डलरको रहेको छ । दश वर्षअघिको तुलनामा यो वृद्धि झण्डै १० गुणा बढी हो ।