neapl investment mega bank
  • गृहपृष्ठ
  • आइक्यानको २४ औँ बार्षिकोत्सव तथा तेश्रो दीक्षान्त समारोह सम्पन्न

आइक्यानको २४ औँ बार्षिकोत्सव तथा तेश्रो दीक्षान्त समारोह सम्पन्न

Jan 31st, 2021

काठमाडौ, माघ १८

नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २४ औँ बार्षिकोत्सव तथा तेश्रो दीक्षान्त समारोहकाबीच १७ माघ, २०७७ मा आइक्यानबाट उतीर्ण सिएहरुमध्ये कुल ३२ जना सिएहरु दीक्षित भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त समारोहमा अर्थमन्त्री पौडेलले दीक्षित सबै सिएहरुलाई बधाई दिँदै देशको समृद्धिमा युवा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका उल्लेखनीय हुने बताए ।

चार्टर्ड एकाउन्टेन्टहरुबाट जनताले ठूलो अपेक्षा राखेको स्मरण गराउँदै उनले सो अपेक्षा पूरा गर्न आइक्यान र सिएहरुले खेलेको भूमिका प्रशंसनीय रहेकोसमेत बताए । लेखा प्रणाली र लेखापरीक्षण देशको विकाससँग सम्बन्धित विषयसमेत रहेकाले र लेखापरीक्षणका माध्यमबाट सुशासनलाई अझ सुदृढ बनाउन सकिने भएकाले देशको विकास, समृद्धि र सुशासनका लागि सम्पूर्ण सिएहरुले आफ्नो काम प्रभावकारी रुपमा गर्नुपर्नेमा समेत उनले जोड दिए । विकास निर्माणका कामहरुमा लेखापरीक्षकले मात्र नभई जनस्तरबाट पनि परीक्षण भइरहेको हुने हुनाले जन परीक्षणलाई समेत ध्यान दिएर जनताका सुझावहरुलाई समेत ख्याल गरी आफ्नो काम गर्न उनले सबै लेखापरीक्षकहरुलाई आग्रहसमेत गरे ।

“देशको समृद्धिका लागि सुशासन महत्वपूर्ण हुन्छ र सुशासनका लागि लेखापरीक्षकहरुले गर्ने लेखापरीक्षणको भूमिका पनि उतिकै महत्वपूर्ण हुन्छ ।” कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पौडेलले भने, “सुशासनको महत्वपूर्ण जिम्मेवारी चार्टर्ड एकाउन्टेन्टहरुको काँधमा छ । यो जिम्मेवारीलाई तपाईंहरुले पूरा गर्नुहुनेछ भन्ने अपेक्षा सबैको छ ।”

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले गरिरहेको भूमिकाको प्रशंसा गर्दै मन्त्री पौडेलले अन्तर्राष्ट्रिय स्तरमै देशको प्रतिनिधित्व गर्ने कुरामा थप सशक्त भएर लाग्न समेत अनुरोध गरे । “हामी भूगोलले सानो हौंला तर आफ्नो विधामा नेपालका सिएहरु अन्तर्राष्ट्रिय स्तरमै नेतृत्व गर्ने क्षमता राख्छन् ।” अर्थमन्त्री पौडेलले भने “आफ्नो सो क्षमता र सामथ्र्य अब अन्तर्राष्ट्रिय स्तरमै प्रमाणित गर्ने बेला भएको छ ।” आइक्यानको हरेक काममा अर्थमन्त्रालयको साथ र सहयोग हुने बताउँदै अर्थमन्त्री पौडेलले मन्त्रालय आइक्यानसँग सधैं सहकार्य गर्न तयार रहेकोसमेत बताए । उनले मन्त्रालय र आइक्यानबीचको सम्बन्धलाई थप बस्तुपरक, जीवन्त प्रभावकारी, र परिणाममुखी बनाउन सिएहरुको भूमिका आवश्यक रहेको समेत बताए ।

समारोहमा अर्थमन्त्री पौडेलले चार्टर्ड एकाउन्टेन्सीका विभिन्न तहहरुमा उत्कृष्ट अंकसहित उतीर्ण हुने विद्यार्र्थीहरुलाई पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । त्यसैगरी, संस्थाबाट उतीर्ण सिएहरुलाई काठमाडांै विश्वविद्यालयका संस्थापक उपकुलपति तथा बरिष्ठ शिक्षाविद प्राध्यापक डाक्टर सुरेशराज शर्माले सपथ खुुवाएका थिए भने त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन प्राध्यापक डाक्टर कुशुम शाक्यले समेत बधाई तथा शुभकामना व्यक्त गरे । साथै उक्त समारोहमा संस्थाका अध्यक्ष सिए. मदनकृष्ण शर्माले संस्थामा कार्यरत कर्मचारीहरुबाट यसबर्ष उत्कृष्ट हुन सफल कर्मचारीहरुलाई नगदसहित प्रमाणपत्रसमेत वितरण गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्षले स्वागत मन्तब्य गर्दै संस्थाको आ.ब. २०६७।७७ को वार्षिक प्रतिवेदन साथै हालका गतिविधिहरुको बारेमा समेत प्रकाश पार्नुभएको थियो भने संस्थाका उपाध्यक्ष सिए. युद्धराज ओलीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद प्रकट गरेका थिए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) लेखाव्यवसायीहरुको नियमनकारी निकाय हो । संस्थाले नेपालमा चार्टर्ड एकाउन्टेन्सीका विद्यार्र्थी भर्ना गर्ने, परीक्षा लिने तथा नेपालका सम्पूर्ण रजिष्टर्ड अडिटर तथा चार्टर्ड एकाउन्टेन्टहरुलाई नियमन गर्ने काम गर्दछ ।