neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रेडक्रस भवन शिलान्यास

Jan 29th, 2021

काठमाडौँ, १६ माघ /रासस

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ स्थित भद्रबासमा नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवन बन्ने भएको छ ।भवनको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आज शिलान्यास गर्नुभयो । नगरपालिकाले उपलब्ध गराएको सात आना जग्गामा भवन बन्न लागेको हो । नगरपालिकाले गरेको अनुमानित लागतअनुसार रु ५० लाखमा एक हलसहित चारकोठे भवन निर्माण हुनेछ । भवन निर्माणका लागि मन्त्री फुयाँलले प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट रु १५ लाख बजेट उपलब्ध गराउनुभएको उपशाखाले जनाएको छ ।

भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री फुयाँलले मुख्यमन्त्रीको अध्यक्षतामा बिहीबार वाग्मती प्रदेश यातायात सञ्चालन बोर्ड गठन गरिएको जानकारी दिनुभयो । बोर्डले ३० विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको जानकारीसमेत उहाँले दिनुभयो । बोर्डका लागि तीन अधिकारी खुला प्रतियोगिताबाट पूर्ति गर्न लागिएकोसमेत जनाइएको छ ।

“प्रदेश सरकारले तीन प्रतिशत ब्याजमा सहुलियत ऋण दिएर आयआर्जन गर्न चाहनेलाई सहयोग गर्न कार्यविधि ल्याएको छ, यसका लागि प्रदेश सरकारबाट रु तीन अर्ब बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो ।प्रदेश सरकारले उपत्यकाका काठ क्षेत्रका तीनै जिल्ला जोडिने गरी १५५ किमी लामो काठ उपत्यका चक्रपथ निर्माणका लागि छिट्टै ठेक्का गर्न लागेको जानकारीसमेत उहाँले दिनुभयो ।

कार्यक्रममा सोसाइटीका काठमाडौँ शाखा सभापति मथुराराम श्रेष्ठले सरकारले जेनेभा सन्धिमा हस्ताक्षर गरेपछि मात्र रेडक्रस स्थापना हुनसक्ने भएकाले अरु सामाजिक संस्थाजस्तो बुझ्न नहुने बताउनुभयो । शाखाका मन्त्री श्यामकाजी डोटेलले काठमाडौँका फर्पिङ, कपन र शङ्खरापुर शाखाले यसअघि नै भवन निर्माण गरिसकेकामो जानकारी दिनुभयो । उपशाखाका लागि गाडी सहयोग गर्न पनि शाखाले पहल गर्ने उहाँको प्रतिबद्धता थियो । उपशाखा सभापति वासुदेव पौडेलले भवनमा १२ बाई २४ को एक हलसहित चार कोठा निर्माण गरिने बताउनुभयो ।

प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त रु १५ लाखबाहेक अरु बजेट चन्दाबाट नै सङ्कलन गर्नुपर्ने उपशाखाका सचिव लक्ष्मीप्रसाद कुइँकेलले जानकारी दिनुभयो । भवन निर्माणका लागि छुट्टै समिति गठन गरी सहयोग जुटाउने काम भइरहेको उपसभापति हरिशरण ढकालले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi