neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

आहा ! शहीद उद्यान…

Jan 29th, 2021

बलेवा, १६ माघ /रासस

बागलुङ नगरपालिका–१ बाङ्गेचौरमा शहीद उद्यान छ । छेवैमा रहेको देशकै लामो झोलुङ्गे पुल । दैनिक सयौँ आन्तरिक पर्यटक यहाँ आउँछन् । एक वर्ष पहिले पुल बनाउन थालनी भएकै थिएन । एक वर्षमा निर्माण सम्पन्न भएको पुलले यहाँ दैनिक सयौँ पर्यटक बोलाइरहेको छ । छेवैमा रहेको शहीद उद्यान (पार्क) भने सधैँ उस्तै रहेको छ ।

पुलको काम गर्नुपूर्व पनि पार्क शहीद दिवसको दिनमा मात्रै सुन्दर देखिन्थ्यो । पुल निर्माणको काम थालेपछि निर्माण सामग्रीले थिचिएका बिरुवा, संरचना र यहाँको पर्यावरणले यसपालि पनि शहीद दिवसकै दिन प्राण पायो । बागलुङ नगरपालिकाले आयोजना गरेको शहीद दिवस मूल सामारोह उद्यानमा नै गरिएकाले उद्यानको एक दिन पहिला सरसफाइ भयो ।

मरेको बिरुवा, सुकेका पात र काण्ड छेवैमा जलाइयो । उद्यानमा शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, थिरबम मल्ल, दशरथ चन्द र गङ्गाल श्रेष्ठको शालिक राखिएको छ । सालिकको बीच भागमा रहेको पोखरी देख्दै घिनलाग्दो थियो । शहीद दिवसमा यो वर्ष पनि पोखरी सफा भएको छ । उद्यानमा रहेका फूल र बुट्यानले मल, पानी पाएका छन् । लाग्छ वसन्तको ऋतुको आगमन हुनेबेला भएको छ ।

शहीद दिवस मनाउन उद्यान पुग्नेले हरेक वर्ष उद्यानको व्यवस्थापनका विषयमा चर्चा गर्ने गरेका भए पनि उचित व्यवस्थापन अझै भएको छैन । “पहिले सुरक्षाको प्रबन्ध थिएन, कसले हेर्ने र संरक्षण गर्ने भन्ने भयो”, बागलुङ नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले भन्नुभयो, “अब हामी योजनाबद्ध ढङ्गबाट संरक्षण गर्दैछौँ ।” लामो पुलमा आउने पर्यटकको गन्तव्य हुने भएकाले पछिल्लो पटक नगरपालिकाले पार्कको संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान दिन थालेको छ ।

उद्यानमा राखिएमा शालिक पनि टुटेफुटेका स्तम्भमा छन् । “हामीले एक जना कर्मचारीको व्यवस्था नै गरिसकेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले भन्नुभयो, “अब शहीद दिवसमा मात्रै होइन ३६५ दिन नै पार्क घुम्न लायक हुन्छ ।” प्रजान्त्रका लागि प्राण आहुति दिने वीर शहीदप्रति श्रद्धासुमन व्यक्त गर्दै सधैँ झैँ यो वर्ष पनि उद्यानमा शहीद दिवस मनाइयो । शहीदको तस्विर र शालिकमा माल्यार्पण गर्दै नगरप्रमुख जनकराज पौडेलले शहीदको सपना पूरा गर्ने दायित्वबाट भाग्न नमिल्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसालले शहीदको सम्मानका लागि उनीहरुले चाहेको व्यवस्थाको रक्षा हुनुपर्ने बताउनुभयो । “अहिले राजनीतिक अवस्था खतरनाक बन्दै गएको छ, यही अवस्थामा शहीदका सपना पूरा गर्न सकिँदैन्”, भुसालले भन्नुभयो, “शहीदको सपना पूरा गर्न हामीले व्यवस्था जोगाउनुपर्छ ।” प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले शहीदको सम्झना मात्रै गरेर नहुने बताउनुभयो । उद्यानमा रहेका सालिकमा माल्यापर्ण गरेर मात्रै उनीहरुको योगदानको कदर नहुने उहाँको तर्क थियो । हरेक वर्ष आयोजना हुने शहीद दिवस मूल समारोहको बागलुङ नगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ । यो वर्षदेखि उद्यानको व्यवस्थापनमा समेत कर्मचारी नै खटाएर लागेको नगरप्रमुख पौडेलको भनाइ छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi