neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एकदिने कोरोना डायरी, हाम्रै गाउँघर र चालचलन

एकदिने कोरोना डायरी, हाम्रै गाउँघर र चालचलन

Jan 27th, 2021

सुशीला शर्मा .
काठमाडौं, माघ १४

दुर्गम भनिएका गाउँहरु डोजरले धकेली धकेली शहरसंग साक्षात्कार भएको छ । बाटो भन्दामाथि पहिरो अनि बाटो भन्दा मुन्तिर पनि पहिरो । तैपनि यातायातको सुविधाले उब्जेका अन्नपात बेचविखन अनि दूधदही विक्री गर्न सजिलो भएको छ, गाउँवासीलाई ।

भिडभाडबाट टाढा बस भन्ने सरकारको उर्दी र व्यक्तिगत सुरक्षाको मनन गर्दैै झण्डै तीन महिना काठमाडौंकै छेउछाउमै रहेको आफ्नो गाउँको घरमा बसियो । जब लकडाउन खुल्यो शहर फर्केको पनि छ महिना नै भईसक्यो । कोरोना कहरलाई देशका अरु परिस्थितिले छोपिदिएझैं भान भएको छ अहिले । कोरोना कहरकै बीचमा दशैं, तिहार, छठ, माघी लगायतका पर्वहरु, विहेवारीहरु सबैमा निरन्तरता भने चलिनै रहेको छ । गाउँघरका रहन सहन र दैनिकीसंग टाढा भएको पनि धेरै वर्ष भईसकेको र कतिपय काम धन्दाहरु, चालचलनहरु त विर्सन लागेको जस्तो भएको छ । गाउँघर र आफूभन्दा जेष्ठतासंग अलिकति नजिक हुने मौका भनेको कि विदा भएको बेला कि आपत महामारी फैलिएकै बेला त रहेछ । गाउँमा हुँदा जम्मा एकदिनको कुरालाई मैले यस लेखमा दर्शाउने जमर्को गरेको छु ।

अलिकति सक्रिय जेष्ठ नागरिकको सचेतता

विहानै उठेर अलिकति उकालो ओरालो हिड्दै थिए, एकजना नजिकको आमासंग भेट भो बाटैमा । उनीसंग गफ गर्दै हिड्दा थाहा भयो । उनी आध्यात्मिक र खानपानमा अनुशासित, सक्रिय जीवनशैली अपनाउने मान्छे, अनि उमेरले ७० वर्ष नाघिसक्दा पनि शरीरका अवयवहरुले राम्रै काम गरिरहेका रहेछन । कुन बार के गर्ने, के नगर्ने, शुभ अशुभ एकदमै बार्नुपर्ने । उनलाई जंगली वुट्यानमा भएका जडिबुटीबारे पनि धेरथोर ज्ञान रहेछ । यसो घुम्दै जाँदा आफू यो बाटो हिड्दा जमानामा भूतले तर्साएको , ऊ परको ओडारमा बन झाँक्री बस्ने र बेलुकी भएपछि ढयाङ्गग्रो लिएर निस्कने कुरा एकदम हो झैं गरी भन्दै सुनाउँदैथिइन् ।

आमाको कुरा सुन्दै अलिकति हिडियो । उनले ७२ वर्ष अघि आफू जन्मिएको ठाउँ पनि देखाईन । उनी विहे नगरुन्जेल यहीको डाँडा पाखामा घाँस काट्दै बन जंगल दाउरा सोत्तर बटुल्दै हुर्केकी हुन् । उनलाई अझैं पनि ती स्मरणहरु ताजै लाग्छन् । ती विगतका कुरा गर्दा आमैको अनुहारमा भिन्नै चमक आउँछ । उनी अहिले आफू जन्मेको ठाउँमा त छैनन् नत उनको माईतीपटिका कोही त्यस ठाउँमा छन तर उनी आफू जन्मेको घर भएको जमिनको माटो लिएर गएर अहिले जहाँ बस्छिन त्यस घरमा स्थापित मन्दिरमा राखेर पुजा गर्ने गर्छिन रे । माटो र प्रकृतिप्रतिको मानिसको सामिप्यता महसुस गर्न ती आमाको भनाई बुझे पुग्छ ।

मैले उल्लेख गरिरहेको आमै बाहुन क्षेत्री अधिनस्त समुदायभित्र पर्छिन । यस गांउमा जनजाति र दलित समुदाय पनि छन तर उनीहरु अझै पनि सक्रिय र सचेत जीवन बाँच्नेहरुको हुलमा चिनिई सकेका छैनन् ।

यो सन्दर्भ तिनै आमासंगको छोटो साक्षात्कारमा आधारित भई उल्लेख गरिएको हो । उनी धार्मिक चालचलनमा निकै कट्टर छिन तर अप्ठेरो पर्दा गाउमा गांउलेलाई धुप वत्ति लिएर होस् या काम सघाईदिएर सकेको सहयोग गर्छिन । यो उनलाई उनकोधर्मले सिकाएको मानवताको पाटो हो या मान्छे भएकैले आएको ज्ञान हो ।

संगै गाउँ हिडेकी आमाबाट यो कुरा पनि ज्ञात भयो कि गाउँमा एक जना माता छिन रे । उनले भनिन ‘उनलाई सोध्न पर्यो कि क्या हो “कोरोना यो गाउँमा आउँछ कि आउँदैन भनेर” मैले उनको यस भनाईमा टिप्पणी उचित ठानिन् । यहाँ काग कराई रहँदा नि किन कराईरहेछ यी काग भनिन्छ, पिरलो हुन्छ , तुवाँलो लाग्यो भने पनि यो केही अशुभ हुनको लागि हो भन्ने जो विश्वास छ ।

हात धुने कुरा

बाटो हिड्दै गर्दा एकजना कठिन परिश्रम गर्ने किसान दाईको घर देखियो । आमैको भनाइ अनुसार ती दाई असाध्यै मिहिनेती रहेछन् । बिहानदेखि बेलुकासम्म कुटो,कोदालो, घाँस दाउरा, भैंसी गोठमा खटाइ गर्ने रहेछन् । काममा लगनशिलता भएकैले पैसो पनि कमाईसकेको र शहरमा घँडेरी किनेर घर समेत बनाउने हैसियतको भएका कुरा आए । दाईलाई भाउजू र छोराछोरीले पनि दिलोज्यान दिएर सहयोग गरेका कुरा पनि आए । अनि कुरा गर्दा गर्दै हात धुने कुरामा चाँहि तिनले अहिले यत्रो हात धुने कुरा हुँदा हात धुन्छन होला कि नाई । भकारो सोहोरेको टाटा नै लिएर भोकको झोकमा ग्वाम ग्वाम भात खान्थे भन्ने कुरा समेत हुन भ्यायो यसवाट पनि हामीलाई हात धुनु त्यति प्राथमिकीकरणमा पर्दैन भन्ने अनुमान गर्न सकिन्छ ।

खानपानको बर्ग

हामी परिवारसंगै छौ । खाना बनाउने कुरा भयो, गाउँकै साग तरकारी र ढिडो खाउँ न त आज भन्ने कुरो भयो । अनि विहानीको हिंडाई म संगै हिड्ने आमालाई पनि सोध्यौ आज ढिडो खाने हो र भनेर , उनले अलि आश्चर्य मिश्रित स्वरमा भनिन “आज औंशी कि केमा नि ढिडो खाने र ?” म त खान्न , आमाले यसो भनेपछि ढिडो मन नपराउनेको लागि भात पकाएर हामीकेहीले चाहि साग र ढिडो खायौं । दिउँसो पनि कोदोको रोटी खाने सल्लाह हुँदा आमालाई पनि सोधियो तर उनले त कोदोको परिकार त कहिले पनि खाने गरेकी छैनन रे । यसबाट पनि हामी आँकलन गर्न सक्छौ कि हामीले खानालाई पनि तह तहमा विभाजन गरेका छौं यसको महत्व नै नबुझिकन । वरिष्ठ भोजन, यसले खाने भोजन, यसले खान नहुने भोजन भनेर । कोदो,मकै,जौ, गहुँ,फापर, धानका आ आफ््नै विशेषता र पौष्टिकताका गु्ण हुन्छन भन्ने महत्व नबुझेर । कतिपय खानाहरु वर्ग र लिङ्ग छुट्याएर खाने गरिन्छ, लोग्ने मान्छेले खानेकु्रा र स्वास्नी मानिसले खानेकुरा, यो जातले खानेकुरा, धनीले खानेकुरा , गरीवले खानेकुरा आदि । दिनभरी विभिन्न विषयमा कुराकानी भैरहँदा फलानीले महिनावारी बार्दिन, पछि आफैंलाई पर्ने त होनी (पाप लाग्ने कुरा) भन्ने जस्ता कुरा पनि भै रहे ।

जनविश्वासका कुरा

कोरोना महामारीको समय छ बहसमा आदरणीयहरुको शास्त्रानुभवले भन्छ ‘पहिले मान्छे मर्दै मर्दैनथे रे यसरी मान्छे मर्दै नमरे पछि त यस धर्तीमा अटाई नअटाई भएर झै झगडा काटमार बढ्यो । संसारमा घना आवादी भएर खान नपुग्ने भयो त्यसैले यसरी बेला बेलामा माथिबाट भगवानले कालको विउ छर्दिन थाले रे ,अहिले देखिएको महामारी पनि विउ छर्दिएकोले भन्ने तर्क पो आउँछ । जेष्ठ नागरिक आमा बुवाहरुको आफ्नै जीवनका दर्शन र बुझाई छन् । हाम्रा अग्रज र सोझा आमा बालाई कसरी प्रष्ट पार्नु कि मानिसको औषत आयु विज्ञान र प्रविधिमा आएको परिवर्तनले अहिले एक शताब्दीको बाटो तय गर्दैछ भन्ने कुरो ।

ती जेष्ठ आमाको अर्को पुरानो सम्झना यस्तो थियो ः साठी पैंसठी वर्ष अघिको महिलाहरुको दैनिकी झल्काउने कुरो त्यतिबेला पिउने पानी या अन्य कामकाजको लागि प्रयोग गरिने पानी पाईपबाट घरकै आगनमा आउँदैनथ्यो । विहान तीन चार बजे नै उठ्नुपर्ने, अत्यावश्यक पानीको जोहो गर्न महिलाहरु टाढाको कुवामा पानी भर्न पुग्थे । कुवा सानो हुन्थ्यो, सबैले पानी भर्न पनि पाउँदैनथे , यसमा अलि शक्तिशाली, सासुको भूमिकामा पुगिसकेका महिलाहरुले पहिल्यै आफ्नो भाँडो भरिसक्थे । आफूभन्दा पहिला अरु महिलाले पानी उवाएर लगिहालेछन भने त्यहाँ झगडाको विउ शुरु हुनेगथ्र्यो । ती बाहेक महिलाको भूमिका भनेको उही चुलो चौको, भात, भान्सा, गोठ,भकारो, बालबच्चा जन्माउने, किशोरी देखि प्रजनन उमेर भरी । पढ्ने,लेख्ने, संसार बुझ्ने, नयाँ काम गर्ने, खुलेर हाँस्ने त कहाँ हो कहाँ । यस्तै भीर पखेरामा भए पनि पुरुष सदस्यले भने खेतीपाती, भ्याएर भए पनि पढ्ने लेख्ने अवसर पाउंथे । तर समुदायका मानिसहरु निकै मेहनेती छन । आफू अहोरात्र पाखा पखेरामा खटेर भए पनि छोराछोरीको भविष्य उज्ज्वल बनाउन लागि परेका छन । दुखजेलो गरेर भए पनि धेरैले सहज ठाउँ, शहरतिर घर बनाईसके । अहिले त धेरै जसोको जीवनशैली नै पनि एकदम आधुनिक र शहरी नै पनि देख्न सकिन्छ ।

अझै पनि गाउँघरमा जेष्ठ अभिभावक हुनेहरुको घरमा भविष्यको लागि सिञ्चित अन्न छन । बिउ विजन छन । दिवंगतहरुको श्राद्धको लागि एक दुई महिना अगाडिदेखि नै यो चाहिन्छ भन्ने जोगाड भईराखेको हुन्छ । बढी नै पिरलो चाँहि सन्तानका भविष्यकोे हुदो रहेछ —के गर्ने होला, यसले के गर्छ होला, धेरै पैसा कमाउन सक्छन कि सक्दैनन होला आदि ईत्यादि । तर पनि आड भरोसा, छरछिमेक,सहयोग,माया , सद्भाव पनि बाँकि नै छन् गाउंमा । बाँडेर खाने, दान गर्ने, गरीव,निमुखालाई विचरा भनेरै भए पनि केही दिने । अहिलेसम्म पनि यी संस्कृति छन समुदायमा ।
कोरोना भाईरसले अहिले धेरै मानिसहरु शहर छोडेर गाउँमा भएको आफ्नो घरमा फर्केका थिए, रोगको भयले र शहरमा काम पनि नभएको यहीबेला परिवारसंग भेटघाट पनि हुन्छ भनेर । सरकारले घरमै बस्नु, क्वारेन्टाइनमा बस्नु भनेर भनेको छ तर रोगका लक्षण र नच्यापेसम्म अस्पताल जाने बानी पनि छैन, र लक्षण देखिने वित्तिकै गएर स्वास्थ्य सेवा लिईहालौ न त भने पनि सर्वसुलभ स्वास्थ्य संस्था नै पनि कहाँ छ र गाउँघरमा ।

धन्न यो गाउमा अहिलेसम्म स्वाशप्रश्वास, रुघा,खोकीले ग्रस्त कोही भेटिएका छैनन । जे होस हरियो परियो वातावरणमा चराचुरुङ्गीको चिरविरसंग आफन्तसंग नजिक भएर कुराकानी गर्ने समय पाईएको निक्लियो । मुख खुल्ला राखेर यसो बनपाखा डुल्न पनि पाईयो र पो प्रकृतिको महत्व पनि अझै बढ्यो ।

मृत्युसंग भाग्नै त सकिदैन तर पनि प्राकृतिक नियमलाई आत्मसात गर्दै केही डर रहित र सुरक्षित महसुस गर्दै मृत्यको डरलाई जित्न सकिन्छ भने किन मृत्युको सकसमा रुमल्लिनु ? आज भन्नलाई र सुन्नलाई यति छ सबैसंग सरसफाईमा ध्यान दिऔ, केही समय भीडबाट छुट्टिएर बसौं तर मनलाई नछुट्टयाऔं । घरमै बसेर सिर्जनात्मक काम गरौं । या काममा गएपनि सुरक्षित भएर काम गरौं । परिवारका कुरा पनि सुनौं । प्रकृतिलाई मनग्गे बुझौं महामारीका दुखद घटनाले निम्त्याएको यो घडीमा ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi