आधारभूमि संवाददाता
काठमाडौ, माघ ११
सरकारले बैदेशिक रोजगारीमा गएका युवाहरुलाई लक्षित गरेर यसपाली पनि बैदेशिक रोजगारबचतपत्रको बिक्री सुरु गरेको छ । तर बिना प्रचारप्रसार ५० करोड रुपैयाँको यस्तो बचतपत्र बिक्रि होला भनेर धेरै आशा राख्न सक्ने भने अवस्था छैन ।
वैदेशिक रोजगारीका लागि खासगरी मलेसिया र खाडी मुलुक गएका नेपालीले पहिलो वर्षको कमाइ विदेश जाादा लिएको ऋण तिर्न र त्यसपछि घराशयी सामान किन्न , तथा छोराछोरीको शिक्षामा खर्च गर्छन् ।
राष्ट्र बैंककै अध्ययन अनुसार विदेशमा काम गर्न गएका नेपालीले पठाएको विप्रेषणको ७९ प्रतिशत रकम उपभोगमा खर्च हुने गरेको छ । बचेको रकम धेरैले घरघडेरी किन्नमा खर्च गरिरहेका छन् । बचतपत्रमा उनीहरुको आकर्षण देखिएको छैन ।राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी बचतपत्र बिक्रि गर्न थालेको १० वर्ष भयो । निष्कासन सुरु गरेको पहिलो तीन वर्ष पनि बचतपत्रको बिक्रि १ प्रतिशत माथि गएको थिएन । अहिले पनि उहि अवस्था छ ।
यो वर्ष वैदेशिक रोजगार बचतपत्रबाट १ अर्ब बराबरको आन्तरिक ऋण जुटाउने योजना बनाएको छ । जस अनुसार गत शुक्रबारबाट ५० करोडको बैदेशिक रोजगार बचतपत्र सुरु भएको हो ।
हरेक वर्ष घाटाको बजेट ल्याउनुपरेपछि त्यसको पूर्ति गर्ने विभिन्न औजारमध्ये सरकारले २०६७ देखि वैदेशिक रोजगार बचतपत्र जारी गर्न थालेको थियो । साथै यसको उद्देश्य विकास निर्माणका काममा वैदेशिक रोजगारीमा गएका युवाको कमाइ परिचालन गर्नु पनि थियो । तर यो सफल हुन सकेको छैन ।
विदेशमा गएका कामदारले विभिन्न रेमिट्यान्स कम्पनीका एजेन्टमार्फत र उनीहरुका परिवारका सदस्यले पासपोर्टको प्रतिलिपि प्रयोग गरी बचतपत्र खरिद गर्न सक्ने व्यवस्था छ । बचतपत्रमा लगानी गर्नेले १० प्रतिशत हाराहारी ब्याज पाउँछन् । तर लगानी गरेको पााच वर्षसम्म रकम फिर्ता पाइदैन ।
राष्ट्र बैंकले अहिले खोलेको बचतपत्रको बिक्रि यही माघ नौ गते देखि २०७७ फागुुन दुुई गतेसम्म तोकिएको छ । तर निष्काशन मिती भने २०७७ फागुुन आठ गते तोकिएको छ ।
बचतपत्र खरिदको लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, सेञ्चुरी कर्मसियल बैंक, प्रभुु बैंक, सिटी एक्सप्रेस, प्रभुु मनी ट्रान्सफर सहितका ११ वटा संस्थाहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार बचतपत्रको सावाँ भुक्तानी मिती बिसं २०८२ फागुन आठ गते तोकिएको छ ।