neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाली सेनाद्वारा बम निष्क्रिय, राजमार्ग सञ्चालन

नेपाली सेनाद्वारा बम निष्क्रिय, राजमार्ग सञ्चालन

Jan 23rd, 2021

बैतडी, १० माघ /रासस

बैतडीमा फेला परेको बम नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको छ । महाकाली राजमार्गअन्र्तगत दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित सडकमा राखिएको बम सेनाको टोलीले निष्क्रिय पारेको हो ।

बेवारिसे अवस्थामा फेला परी निष्क्रिय पारिएको उक्त शङ्कास्पद वस्तु डेक्ची बम रहेको बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गए राति बीच सडकमा भेटिएको उक्त बमलाई दार्चुलाबाट आएको सेनाको टोलीले निष्क्रिय पारेको हो । उहाँले भन्नुभयो, “उक्त बम कसले र किन राखेको भन्ने खुल्न सकेको छैन, थप अनुसन्धान गर्दैछौँ ।” नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेकाले उक्त समूहले नै बम राखेको हुनसक्ने आशङ्का गरिएको छ ।

यसैबीच गए रातिदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन भएको छ । सडकमा राखिएको बमका कारण बन्द भएका सवारी साधन पनि बम निष्क्रिय पारिएसँगै सञ्चालनमा आएका छन् । रोकिएका सवारी साधनलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पु¥याएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मालवाहक ट्रकमा आगजनी

महाकाली राजमार्गमाअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आज एक मिनीट्रकमा आगजनी भएको छ । गोकुलेश्वरबाट दार्चुलाको सदरमुकाम खलङ्गातर्फ गइरहेको सुपप्र ००१ क १५४८ नंको मालवाहक मिनीट्रकमा आगजनी गरिएको हो ।

आज दिउँसो गोकुलेश्वरमा रहेको प्रहरीको चेक प्वाइन्टमा इन्ट्री नै नगराएर गएको उक्त मिनीट्रकमा आगजनी भएको हो । नजिकै रहेको पेट्रोलपम्पमा तेल हाल्छु भनेर इन्ट्री नै नगराएर गएको उक्त मिनीट्रक आगजनी भएको खबर आएको दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । “चन्द समूहको आज नेपाल बन्द रहेको थियो, प्रहरीले स्कटिङ गरेर गाडीलाई गन्तव्यमा पु¥याइरहेका थियौँ”, प्रहरी नायब उपरीक्षक विष्टले भन्नुभयो, “चेक प्वाइन्टमा आफू नजिकै जाने भनेर प्रहरीलाई ढाँटेर हिँडेको छ, उसको क्रियाकलाप शङ्कास्पद रहेकाले ट्रकमा आफैँ आगलागी भयो कि कसैले आगजनी गरे भन्ने खुल्न सकेको छैन ।”

मिनीट्रकमा आगो लागेको भन्ने खबर पनि बाहिरका मान्छेले गरेकाले थप शङ्का उत्पन्न भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदको भनाइ छ । उहाँले भन्नुभयो, “खबर पाउनसाथ हामी गएर आगो निभायौँ तर साहु र चालक भने सम्पर्कविहीन रहेका छन् ।” ट्रकका साहु जगन्नाथ पन्त र चालक महेश पाललाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिने र अनुसन्धानपश्चात थप कुरा खुल्ने प्रहरीले जनाएको छ । मालवाहक उक्त ट्रकमा रहेको हार्डवेयरको सामग्री र ट्रक भने जलेर नष्ट भएको बताइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi