आधारभूमि संवाददाता
काठमाडौं, पुष १९
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक हेर्ने हो भने बिकास निर्माणमा शिथिलता रहेको प्रष्ट देखिन्छ । वर्षका ६ महिना बित्न लाग्दा बिकास खर्च भने ११ प्रतिशत पनि भएको छैन ।
मुलुक महामारीका चपेटमा रहेका कारण बिकास निर्माणमा शिथिलता आएको हो । बिकास निर्माणमा शिथिलता आएको त भन्सार विभागको तथ्यांकले पनि प्रष्ट पार्छ । किनभने पछिल्लो सयम बिकास निर्माणका लागि आवश्यक पर्ने यन्त्रको आयातमा भने कमि आएको छ ।
महामारीका कारण यसको खरिदमा भएको ढिलाइका कारण यन्त्रहरुको आयातमा कमि आएको हुनसक्ने भन्सार विभागको आकलन छ।
पुँजी अभिबृद्धि गर्ने खालका यन्त्रको आयातमा भने गत वर्षको तुलनामा ६६ प्रतिशतले गिरावट आएको छ । यो अर्थतन्त्रका लागि सुखद संकेत होइन र यसले आगामी दिनमा उत्पादन घट्ने संभावना देखाउँछ ।
बिकास निर्माणका सामाग्री, यन्त्र , पार्टपुर्जा बढ्दा भने यसले देश बिकासको बाटोमा गएको देखाउँछ । किनकी यस्ता बस्तुले पुँजी अभिबृद्धि गर्छन् । खाद्यान्न र तयारी कपडाको आयातले रकम बाहिरिन्छ , भन्सार राजस्वमा टेवा पुगेपनि समग्र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्दैन । तर यता उपभोगमा भने बृद्धि भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार बिदेशबाट आयात हुने चामलको आयात ह्वात्तै बढेको देखिन्छ । उपभोगमा बृद्धि भएकाले चामलको आयात बढेको देखिएको हो ।
विदेशबाट आयात हुने चामल, खाने तेलको कच्चा पदार्थ र तयारी कपडाको आयात बढेको छ । गत वर्षको मंसिर मसान्तसम्म आठ अर्ब ८ करोको चामल आयात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो आयात ४७ प्रतिशतले बढेर ११ अर्ब ९२ करोड पुगेको छ ।
यस्तै मोबाइल फोन पनि गत वर्ष १० अर्ब ३६ करोडको आयात भएकोमा यो वर्षको सोहि अवधिमा १७ अर्ब ६४ करोडको आयात भएको छ । यस्तै तयारी कपडा र भटमासको तेलको कच्चा पदार्थको पनि आयात बढेको छ ।
अझ सरकारले चुनाव घोषणा गरेसँगै त अब झनै नयाँ बिकास निर्माणका काम ठप्प जस्तै हुने देखिएको छ पुँजी अभिबृद्धि गर्ने बस्तुको आयातमा कमि आएकाले अब सरकारले बिकास निर्माणलाई तिब्रता दिन जरुरी छ ।
महामारीले देश आक्रान्त भएको बेलामा सत्तासिन पार्टि नेकपा भने फुटमा लागेको छ । यो अर्थतन्त्रका लागि सुखद होइन ।