neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

Jan 1st, 2021

दमौली, १७ पुस /रासस

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।

तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकामा उनी गत वर्षको दशैँ अगाडि नै समायोजनको क्रममा अन्यत्रै गएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । “समायोजन भएर गएपछि अर्को स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित स्वास्थ्य परीक्षणबाट बञ्चित भएका छन्”, अधिकारीले भन्नुभयो ।

अहिले कारागारमा अहेवको दरबन्दी कायम भएको तर स्वास्थ्यकर्मी भने नआइपुगेको अधिकारीले बताउनुभयो । स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचारका लागि पनि कैदीबन्दीलाई दमौली अस्पतालमा लैजानुपर्ने बाध्यता छ । “सामान्य स्वास्थ्य समस्या भएकालाई पनि अस्पताल लैजानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

चिसो बढेपछि कैदीबन्दीमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको तर कारागारमा स्वास्थ्यकर्मी नहुँदा उनीहरुलाई उपचार र स्वास्थ्य परीक्षणका लागि दमौली अस्पतालसम्म लैजानुपरेको अधिकारीले बताउनुभयो । एक सय पाँच जना क्षमताको कारागारमा १८७ कैदी र ८२ थुनुवा गरी २६९ छन् । क्षमताभन्दा धेरै राख्नुपर्दा र एकापसमा टाँसिएर सुत्नुपर्दा कैदीबन्दीमा छालासम्बन्धी रोग देखिने गरेको अधिकारीले बताउनुभयो । त्यसबाहेक रुघाखोकी र भाइरल ज्वरोजस्ता स्वास्थ्य समस्या कैदीबन्दीमा देखिन थालेको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न रोगका कारण दैनिक चार÷पाँच कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल लैजाने गरिएको छ । कारागारको आफ्नै सवारी साधन नहुँदा जिल्ला प्रहरी कार्यालयबाट सवारी साधन मगाएर मात्र कैदीबन्दीको स्वास्थ्य परीक्षणका लागि लैजाने गरिएको छ ।

कारागारमा पुस्तकालय स्थापना

कैदीबन्दीलाई समयको सदुपयोगसँगै चेतना वृद्धिमा सहयोग पु¥याउन टिम नेपोले कारागार तनहुँमा पुस्तकालय स्थापना गरेको छ । ज्ञान रचेतना अभिवृद्धि गराउन टिम नेपोले कारागारमा पुस्तकालय स्थापना गरेको हो । पुस्तकालयसँगै संस्थाले एक हजार ५०० थान पुस्तक र दराज सहयोग गरेको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले प्रमुख जिल्ला अधिकारी सागर आचार्य, निमित्त जेलर नारायण अधिकारीलाई पुस्तक हस्तान्तरण गर्नुभयो ।

सो कार्यक्रममा नगरप्रमुख न्यौपानेले पुस्तकालय स्थापनासँगै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न कारणले कारागार आइपुगेका कैदीबन्दीलाई विभिन्न ज्ञानका कुरा सिक्न पुस्तकले सहयोग पुग्ने न्यौपानेले बताउनुभयो । “युवाको सक्रियतामा रचनात्मक कामको शुरुआत गरिएको छ”, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले कारागारमा स्थापना गरिएको पुस्तकालयले कैदीबन्दीलाई सिर्जनशील बनाउन सहयोग पुग्ने बताउनुभयो । टिम नेपोका केन्द्रीय अध्यक्ष निगम पौडेलले पुस्तक परियोजनाअन्तर्गत तेस्रो जिल्लाको रूपमा तनहुँ कारागारमा पुस्तकालय स्थापना गरिएको जानकारी दिनुभयो । यस अगाडि अर्घाखाँची र स्याङ्जा कारागारमा पुस्तकालय स्थापना भइसकेको छ ।

“पुस्तकले जीवन परिवर्तन गर्न सक्छ भन्ने उद्देश्यसहित संस्थाले दुई वर्ष अगाडि परियोजना शुरुआत गरेको हो”, उहाँले भन्नुभयो, “शुरुमा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरे पनि अहिले कारागारमा अभियान सञ्चालन गरेका छौँ ।” टिम नेपो तनहुँका अध्यक्ष गोविन्द तिमिल्सनाले रु एक लाखभन्दा बढी मूल्यका विभिन्न पुस्तक कारागारलाई सहयोग गरिएको जानकारी दिनुभयो ।