आधारभूमि संवाददाता
काठमाडौं, पुष ७
नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोडले बचतमा रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति कात्तिक मसान्तसम्म ९३ करोड १७ लाखले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.४ प्रतिशतले वृद्धि भई २०७७ कात्तिक मसान्तमा १५ खर्ब ६ अर्ब ६ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १२ अर्ब ६५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई रु.१३३२ अर्ब ६ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७७ कात्तिक मसान्तमा १.० प्रतिशतले कमी आई रु.१७३ अर्ब ९९ करोड कायम भएकोछ ।
२०७७ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७७÷७८ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.४ महिनाको वस्तु आयात र १४.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म चालु खाता .२० अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३४ अर्ब १२ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ८ लाखले बचतमा रहेको छ । कात्तिक मसान्तसम्म पुँजीगत ट्रान्सफर ९.३ प्रतिशतले कमी आई ४ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.९ प्रतिशतले कमी आई ३ अर्ब ७५ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ५७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रहेको थियो ।
त्यस्तै रेमिट्यान्स गत वर्षको तुलनामा ११.२ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यो वर्षको कात्तिक मसान्तसम्म रेमिट्यान्स ३ खर्ब ३७ अर्ब ७२ करोड आएको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो । कात्तिक मसान्तसम्म
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आई १९ हजार २ सय ५१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९ सय ३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो ।
बैदेशिक रोजगारीमा जानेहरुमा कमि आएपनि रेट्यिान्समा भने त्यसको कुनै असर देखिएको छैन ।