neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

झुलाघाट नाकामा आवतजावतमा खुकुलो

Dec 21st, 2020

बैतडी, ६ पुस /रासस

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ । यसअघि सरकारले मङ्सिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने निर्णय नगर्दा नाकामा आवतजावतमा खुकुलो बनाइएको हो ।

आकस्मिक कामका लागि सहजै आवतजावत गर्न दिइएको बैतडीका सहायक प्रमुुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । “जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढस्थित उपजिल्ला अधिकारीको कार्यालयबीचको सहमतिमा आवतजावतमा खुकुलो बनाइएको छ”, उहाँले भन्नुुभयो, “आकस्मिक काम परेका व्यक्ति, बिरामी, भारतीय कर्मचारी, भारतीय सेनाका जागीरेलाई आवतजावत गर्न दिइएको छ । भारतमा मजदुरीका लागि जानेका लागि भने अहिलेलाई भारतको तर्फबाट अनुमति दिइएको छैन ।”

नेपालको तर्फबाट मजदुर पनि जान दिइएको भए पनि भारतले मजदुरीका लागि जाने नेपाली कामदारलाई जान नदिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । उत्तराखण्ड प्रदेशमा अझै कोरोनाको जोखिम कायम रहेकाले भारत सरकारले उक्त प्रदेशका नाकामा कडाइ गरेको जनाइएको छ । मजदुरीका लागि भारत जानेलाई हाललाई सुदूरपश्चिमको गड्डाचौकी र त्रिनगर नाकाबाट जान दिइएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेको भन्दै गत चैतदेखि नेपालले अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi