neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वदेशी आयोजनाको बिजुली उत्पादन घट्यो, दिनदिनै भारतबाट बिजुली आयात बढ्दै

स्वदेशी आयोजनाको बिजुली उत्पादन घट्यो, दिनदिनै भारतबाट बिजुली आयात बढ्दै

Dec 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,पुष ५

स्वदेशी जलविद्युत आयोजनाको बिद्युत उत्पादन दिनदिनै घट्न थालेको छ । राष्ट्रिय प्रणालीमा जडित आयोजनाको कुल क्षमता १३ सय ८ मेगावाट हो । तर अहिले जलविद्युत आयोजनाबाट जम्मा ८ सय ८० मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ ।

निजी क्षेत्रबाट निर्माण भएका सबैजसो आयोजना रन अफ दि रिभर छन् । अर्थात ७ सय २६ मेगावाटका यि ८८ वटा आयोजनामा पानी जम्मा गरेर राख्न मिल्दैन । त्यसैले अहिल यि आयोजनाबाट जम्मा ३ सय ६० मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ ।

पिक समयमा बिजुलीको माग १३ सय २० मेगावाट छ । पानीको बहाब घट्दै गएपछि यहाँका जलविद्युत आयोजनाको उत्पादन घट्दै जादा भारतबाट आयात गर्ने बिजुलीको मात्रा दिनदिनै बढाउनु परेको विद्युत प्राधिकरणले जनाएको छ ।

१ सय ५ मेगावाट विद्युत उत्पादन हुने कुलेखानी जलविद्युत आयोजना मात्रै जलाशययुक्त आयोजना हो । जसलाई प्राधिकरणले अहिले विद्युतको माग उच्च हुने समयमा चलाउने गर्छ । र, यो आयोजनाबाट पनि विद्युत अपुग हुने स्थिीती आएमा प्राधिकरणले भारतबाट बिजुली आयात गर्ने गरेको छ ।

विद्युत प्राधिकरणसँग पनि जडित क्षमता ५ सय ८२ मेगावाट भएपनि अहिले उत्पादन क्षमता ५ सय २० मेगावाट मात्रै छ ।

अहिलेको माग धान्नका लागि देशमा उपलब्ध बिजुली पर्याप्त नभएपछि लोडसेडिङ हुन नदिनका लागि भारतबाट विद्युत प्राधिकरणले ४ सय ४० मेगावाटसम्म बिजुली आयात गर्नुपरेको विद्युत प्राधिकरणले जनाएको छ ।

चैतको सुरुवाती हप्तादेखि लकडाउन भएपछि विभिन्न उद्योगधन्दा र कलकारखाना बन्द भए । कलकारखाना बन्द भएपछि माग घटेका बेला यता वर्षातका कारण जलविद्युत आयोजनाको उत्पादन क्षमता ह्वात्तै बढ्यो ।

यसपछि केहि दिन रातमा बिजुली खेर जाने स्थिती आएपछि प्राधिकरणले भारतमा समेत बिजुली निर्यात गर्याे । तर अहिले भने खोलामा पानीको बहाब घटेपछि देशमा लोडसेडिङ हुन नदिनका लागि भारतबाट ४ सय ४० मेगावाट बिजुली आयात गर्नुपरेको छ । अर्थात देशको लोडसेडिङ हुन नदिनका लागि भारतबाट आयात गरेको बिजुलीको योगदान झन्डै ३४ प्रतिशत छ ।

उर्जा संकट अर्थात लोडसेडिङ हुँदाका बखतमा सरकारले निजी क्षेत्रलाई जलविद्युत क्षेत्रमा त आकर्षित गर्याे तर रन अफ दि रिभर खालका आयोजनामा मात्रै ।

निजी क्षेत्र अहिले पनि जलाशययुक्त आयोजनामा आकर्षित हुन सकेको छैन । जसका कारण जडित क्षमता उच्च भएपनि हिउँदका समयमा भने भारतबाटै बिजुली आयात गर्नुपरेको छ ।

उचित मूल्य दिएर निजी क्षेत्र तथा बैदेशिक लगानीलाई जलाशययुक्त आयोजनामा आकर्षित गर्न नसक्दा अहिले बिजुलीका लागि भारतमा भर पर्नु परेको स्थिती छ ।