आधारभूमि संवाददाता
काठमाडौं,पुष ३
यसअघि मुद्दति निक्षेपमा १० प्रतिशतको हाराहारीमा ब्याज प्रदान गरिरहेको एनआइएसी एसिया बैंकले अहिले ह्वात्तै ब्याज घटाएको छ । अब एनआइसी एसिया बैंकको मुद्दति निक्षेप खातामा पैसा राख्दा जम्मा साढे ६ प्रतिशत मात्रै पाइने भएको छ ।
यसअघि नै बचतमा थोरै ब्याज दिएको यो बैंकले अहिले पनि बचतको ब्याजदरमा भने कुनै सुधार गरेको छैन । सामान्य बचत गर्नेहरुले एनआइसि एसिया बैंकमा राख्दा भन्दा अन्य बैंकमा राख्दा नै फाइदा पाइरहेका छन् । यसले साढे १ प्रतिशत ब्याज दिदा अन्य बैंकले भने ३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् ।
यसअघि १० वर्ष भन्दा माथिको मुद्दति निक्षेपमा ९ दशमलव सात पाँच दिने गरेको एनआइसी एसिया बैंकले अहिले यस्तो ब्याज तीन दशमलव दुई पाँच प्रतिशतले घटाएर साढे ६ प्रतिशत दिने बताएको छ ।
तीन महिनासम्मको मुद्दति निक्षेपमा भने नेपाल एसबिआई बैंकले सबैभन्दा थोरै कम ब्याज दिएको छ। तीन महिनासम्मको मुद्दति निक्षेपमा सिटिजन्सले सबैभन्दा बढि सात दशमलव सात पाच प्रतिशत ब्याज दिएको छ भने नेपाल एसबिआईले जम्मा ३ प्रतिशत मात्रै ब्याज दिएको छ ।
मुद्दति निक्षेपको ब्याज उच्च दिने बैंकहरुलाई बचतको ब्याज पनि राम्रै दिन लगाउनका लागि राष्ट्र बैंकले गत मंसिर १८ गते मुद्दति निक्षेप र बचतको ब्याजदरको अन्तर ५ प्रतिशतभन्दा बढि हुन नहुने व्यवस्था गर्याे ।
तर साधारण बचतको ब्याज बढाउने भन्दै अघि सारिएको यो नीतिले उल्टै मुद्दति निक्षेपको ब्याज घटाएको छ तर साधारण बचतको ब्याजमा कुनै परिवर्तन देखिएको छैन । बैंकहरुले यस्तो अन्तर कायम गर्न बचतको ब्याज बढाउने होइन, उल्टो बाटो मुद्दति निक्षेपको ब्याज घटाउने रणनीति अपनाएका छन् ।
ग्लोबल आइएमई बैंकले मंसिर अघि सम्म १ देखि दुई वर्ष सम्मको मुद्दति निक्षेपको ब्याज आठ प्रतिशत दिने गरेकामा पुस मसान्त देखि साढे सात प्रतिशत दिने घोषणा गरेको छ । महामारीका कारण लामो समयदेखि कर्जा जान नसक्दा बैंकहरुमा अधिक तरलता रहेका कारण तत्कालै बचतको ब्याज नबढाउने बैंकर्सको भनाई छ ।
१० वर्ष भन्दा माथिको मुद्दति निक्षेप नेपाल बंगलादेश बैंकले १ दशलमव सात पाँच एनएमबीले १ दशमलव दुई पाँच, एनसीसी र सेञ्चुरीले १ /१ प्रतिशतले घटाएका छन् । अहिलेसम्ममा २० बैंकले पुष १ देखि लागु हुनेगरि नयाँ ब्याजदर निकालिसकेका छन् भने सात बैंकको बाँकि छ ।
प्रकाशित ब्याजदर अनुसार १३ वटा बैंकले १० वर्ष भन्दा माथिको मुद्दति निक्षेपमा दिने ब्याज घटाएका छन् भने सातवटाले परिवर्तन गरेका छैनन् । राष्ट्र बैंकले निक्षेप उपकरण तथा रिभर्स रिपो मार्फत बैंकमा देखिएको अधिक तरलतालाई कम गरेर ब्याजदर बढाउनु पर्नेमा राष्ट्र बैंकले ब्याजदर हस्तक्षेप गर्न खोज्दा त्यसको उल्टो असर देखिएको छ ।