आधारभूमि संवाददाता
काठमाडौं, मंसिर २४
गत वर्ष सम्म विदेश पढ्न जाने नेपालीका कारण सेवा खाता उच्च भएको तर्क गरिन्थ्यो । वास्तवमा नेपालबाट बाहिर पढ्न जाने धेरै भन्दा पनि विदेशबाट पढ्न नआउँदा यहाँ सेवा खाता घाटामा गएको हो ।
कहाँ पढ्ने के पढ्ने नागरिकको स्वतन्त्रताको कुरा हो । तर राज्यले विदेश पढ्न जानेलाई निरुत्साहित गर्ने भन्दा पनि बाहिरबाट यहाँ पढ्न आउने वातावरण तयार गर्नुपर्छ भन्ने अहिलेको तथ्यांकले देखाएको छ।
शिक्षातर्पmको व्यय ४ अर्ब ४० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २१ अर्ब रहेकोमा शिक्षातर्फको व्यय १० अर्ब १८ करोड रहेको थियो । तरपनि सेवा ख खातामा भने सुधार आएको छैन ।
त्यस्तै सेवा खाता अन्तर्गत असोज मसान्त सम्म भ्रमण व्यय ७४.८ प्रतिशतले घटी ५ अर्ब २९ करोड कायम भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यो आर्थिक वर्षको असोज मसान्तसम्ममा खुद सेवा आय १० अर्ब ५९ करोडले घाटामा रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६ अर्ब ५ करोडले घाटामा रहेको थियो ।
सेवा बापत आय र व्ययको हिसाब राख्ने खातालाई सेवा खाता भनिन्छ । अर्थात पर्यटक आए वा नेपालबाट बाहिर घुम्न गए भने पर्यटक आउँदाको आम्दानी र नेपाली घुम्न जादाको अन्तर केलाउने खाता सेवा खाता हो । जुन अहिले घाटामा छ । जबकी यो बेलामा नेपालबाट बिदेश घुम्न जानेहरुको संख्यामा कमि आएको छ ।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आयमा ९१.५ प्रतिशतले कमी आई रु १ अर्ब ४७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१७ अर्ब ३३ करोड रहेको थियो ।
अर्थात नेपालमा आउने पर्यटकको संख्या शुन्य जस्तै भएकाले यस्तो आम्दानी अहिले घटेको देखिएको हो । अहिले बिदेशबाट काम गर्न आउने बाहेक अन्य आएका छैनन् ।
त्यस्तै चालु खाता ३४ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ४७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८४ लाखले घाटामा रहेको चालु खाता अहिले २८ करोड ८२ लाखले बचतमा रहेको छ ।
त्यस्तै पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई ३ अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई २ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ६८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ९९ करोड रहेको थियो ।
साथै शोधनान्तर स्थिति १०१ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।