किमाथाङ्का, १७ मङ्सिर /रासस
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद गौतमले पार्टीमा देखिएको विवाद अन्त्य गर्न महाधिवेशन आवश्यक भएको बताउनुभएको छ । सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुरा गर्दै नेकपाका केन्द्रीय सदस्य गौतमले अबको केन्द्रीय कमिटीको बैठकबाट महाधिवेशनको कार्यतालिकामाथि छलफल गरेर त्यसको कार्यान्वयनतिर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले हिजोका दिनमा रुसी तथा चिनियाँ कम्युनिष्ट पार्टीमा दुई लाईनको सङ्घर्ष भई पार्टी विभाजन हुने खतरा रहेका समयमा समेत तिनले पार्टी विभाजन नगरी व्यवस्थापन गरेको उदाहरण दिँदै उहाँले देशको नेतृत्व गर्नका लागि पार्टी विभाजन नभई एकताका पक्षमा लाग्नु नै उपयुक्त हुनेमा जोड दिनुभयो ।
पार्टीभित्र अबको महाधिवेशनबाट उमेरहद लागु हुनुपर्ने गौतमको भनाइ थियो । उहाँले भन्नुभयो, “उमेर मात्र नभएर दृष्टिकोण, विचारसमेत युवाशक्तिले अवलम्बन गर्ने खालको हुनुपर्नेछ ।” हिजो पूर्वएमाले र पूर्वमाओवादीले लिएका सिद्धान्त, विचार तथा कार्यक्रम थाती राखेर अब ‘जनताको जनवाद’ माथि छलफल गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।