–सानेबहादुर नेपाली
तनहँु, १६ मङ्सिर /रासस
कोरोना कहरका कारण बन्द भएका तनहुँका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । छाब्दी बाराही र तनहुँ कालिका यहाँका महत्वपूर्ण धार्मिक तीर्थस्थल छन् । त्यस्तै थानीदेवी माइ, चन्द्रावती, लुतेबराह र आँबुखैरेनीको आँधीमूल बाराही, छिम्केश्वरी, देवघाट, घण्टाचुली, ढोर बाराही, तीन खोले मन्दिरलगायत तीर्थस्थलमा आन्तरिक पर्यटकको राम्रै चहलपहल हुन्छ ।
समुद्री सतहबाट १८७ मिटर देवघाट गाउँपालिकाको कालीगण्डकी त्रिशूली नदीको सङ्गमस्थलदेखि दुई हजार १३४ मिटर उचाइमा रहेको छिम्केश्वरी डाँडासम्मका भाग तनहुँमा पर्दछन् । राष्ट्रिय जनगणना २०६८ का अनुसार तीन लाख २३ हजार २८८ जनसङ्ख्या रहेको तनहुँमा सबैभन्दा बढी मगरको बाहुल्य छ । गण्डकी प्रदेश सरकारद्वारा तोकिएका ११० महत्वपूर्ण पर्यटकीयस्थलमध्ये १० वटा तनहुँमा पर्छ ।
शुक्लागण्डकी नगरपालिकाका ढोरबाराही मन्दिरमा साउन महिनामा इष्ट देवता मान्ने यहाँका रैथानेवासीले कोट र बहाली पूजा गरेपछि मात्रै पूजाअर्चनाको शुरुवात गर्ने प्रचलन रहिआएको छ । मठमन्दिरमा कोरोनालाई लक्षित गरी पूजाआजा बन्द गरिएका अवस्थामा नित्य पूजा भने सञ्चालन गरिएको छ । ढोरबराही मन्दिरको मुख्य आर्कषण भनेको यहाँस्थित जलकुण्डमा पानीको लहरी छुट्नु रहेको मन्दिरका पूजारी सन्तोष लम्सालले बताउनुभयो ।
सहज अवस्था हुदाँ यहाँ दैनिक करिब ५/६ हजारसम्म भक्तजन आउने गरेपनि अहिले नगरपालिकाबाट कोरोनाका कारण बन्द गरिएको छ । मन्दिरमा दर्शनार्थी एवं आन्तरिक पर्यटक आउन थाले पनि मन्दिर खुला भने नगरिएको ढोरबाराही विकास समितिले जनाएको छ ।
पन्ध्र/सोह्र मिनेटको फरकमा पानीको लहरी छुट्नुलाई दैवीशक्ति रुपमा लिइने गरिएको छ । मन्दिरमा दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । नगरपालिकाले मन्दिर परिसरमा पशुपक्षी बलि र फोटो खिच्ने कार्यका लागि वार्षिक रु २५ लाखमा बोलपत्र गरी आम्दानी गर्दै आएको भएपनि कोरानाका कारण प्रभावित भएको नगरपालिकाका प्रवक्ता खिम कुमालले बताउनुभयो ।
तनहुँ, बन्दीपुर, ऋषिङ रानी पोखरी जिल्लाका ऐतिहासिकस्थलका रुपमा परिचित छन् । समुद्री सतहदेखि धेरै उचाइमा रहेका यी स्थानमा बसेर तत्कालीन राणकालीन शाहवंशीय राजाहरुले राज गर्दथे । यी स्थान अहिले भग्नावशेषका रुपमा रहेका छन् । तत्कालीन युद्धमा प्रयोग गरिने तोपलगायतका हातहतियार संरक्षणको पर्खाइमा छन् ।
कतिपय स्थानमा रहेका यस्ता ऐतिहासिकस्थलको संरक्षणतर्फ सम्बन्धित स्थानीय सरकार सक्रिय भएर लागेका छन् । तनहुँका दश वटा धार्मिक पर्यटकस्थललाई प्रदेश सरकारले सूचीकृत गरिसकेको छ भने सङ्घीय सरकारबाट तनहुँ कालिका जङ्गल पार्क र भीमादको सिद्धगुफा छनोट गरी यसका पूर्वाधारलगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
नेपालको पर्यटन व्यवसायमा धार्मिक पर्यटक एक महत्वपूर्ण पक्ष रहेको पर्यटनविद् एवं सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले बताउनुभयो । जिल्लाभित्र गण्डकी प्रदेश सरकारको सहयोगमा ६० भन्दा बढी घरबासको रुपमा प्रवद्र्धन भइसकेका छन् । साँस्कृतिक ग्रामको रुपमा भानु नगरपालिकाको मिर्लुङकोट, ब्यास नगरपालिकाको गलेखामकोट, शुक्लागण्डकी नगरपालिकाको भुजिकोट रहेका छन् । जिल्लाभित्र एउटा दलित समूदायले चलाएको होमस्टे छ भने अन्य सबै आदिवासी जनजातिबाट सञ्चालनमा रहेका छन् ।
तनहुँको पुरानो सदरमुकाम एंव राणाकालीन व्यापारिक केन्द्र बन्दीपुर हो । डुम्रे बजारबाट सात किलोमिटरमाथि दक्षिणमा झण्डै चार हजार ५०० फिटको उचाइमा रहेको बन्दीपुर प्रकृति र संस्कृति दुवै रूपमा जीवन्त धरोहरको रुपमा रहेको छ । प्राकृतिक सम्पदा र ऐतिहासिक धरोहरको जीउँदो सभ्यताको रूपमा बन्दीपुरले पर्यटकलाई आकर्षित गरेको छ । अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट गएका नेवार, रैथाने मगर, गुरुङ र बाहुन जातिको बसोबास रहेको बन्दीपुरमा काठमाडौँ उपत्यकाका मल्लकालीन कला संस्कृति र जनजीवनको प्रत्यक्ष छाप अहिले पनि जीवन्त पाइन्छ ।
खड्गदेवी, मुकुन्देश्वरी, विन्ध्यवासिनी, महालक्ष्मी मन्दिर र ऐतिहासिक गढी टुँडिखेल र मनोरम प्राकृतिक हिमाली दृश्य आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि यहाँका प्रमुख आकर्षण हुन् । देव देवालयको वास्तुकला र पवित्र रमणीयस्थलका कारण पनि बन्दीपुर पर्यटकको केन्द्र विन्दु बन्ने गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न र व्यवसायलाई दीर्घकालीन रुपमा टिकाइ राख्न बन्दिपुरका होटल व्यवसायीले १० देखि ३० प्रतिशत छुटको व्यवस्था गरेका छन् ।
यस क्षेत्रका करिब ८० वटा होटल व्यवसायीले विभिन्न अफर राखेर पर्यटकलाई आर्कषण गर्दै आएको तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दिपुर बजार इकाइ समितिका सभापति एवं होटल दरबार हिमालयका सञ्चालक बैश गुरुङले जानकारी दिनुभयो । विगतका वर्षमा मानिसको चहलपहल हुने बन्दिपुरमा यस वर्ष कोरोनाका कारण सुनसान बनेको उहाँले बताउनुभयो ।
पछिल्ला दिनमा बढ्दै गएको आन्तरिक पर्यटकको चहलपहलले पुनः पर्यटकीय चहलपहल बढ्ने आशा पलाएको व्यवसायी बताउँछन् । धार्मिक दृष्टिले देवघाटको महत्व पनि उत्तिकै गरिमामय रहेको छ । यहाँको घुमाउनेघाट, गाईघाट र केलादीघाट पनि महत्वपूर्ण गन्तव्य हुन् । ऋषि महर्षिको आदर्श तपोभूमि मानिएको मादी र सेती गण्डकीको सङ्गमस्थल दमौली तनहुँको अर्को आकर्षण हो । पराशर आश्रम, ब्यासगुफा, मादी र सेतीको जलप्रवाह एवं् जल विहार यहाँका विशिष्टता हुन् । सदरमुकाम दमौलीदेखि करिब ६ किलोमिटर दूरीमा पर्ने समुद्री सतहदेखि १२४० मिटर उचाइमा रहेको मानुङकोट पनि पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै गएको छ ।
यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि ब्यास नगरपालिकाले रु ३५ लाख खर्च गरिसकेको छ । पछिल्लो समयमा मानुङकोटमा आन्तरिक पर्यटकको आगमनमा वृद्धि हँुदै गएको अवस्थामा शौचालय र खानेपानीको चरम समस्या रहेकोले तत्काल त्यसको व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्न लागिएको ब्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।